Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०८० बैशाख २६ मंगलबार ०८:०६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिजको संक्रमण बढ्दो

Read Time : > 1 मिनेट
२०८० बैशाख २६ मंगलबार ०८:०६:००

तीन महिनामा दुई जिल्लामा २२ पशुचौपायामा रेबिज, डेढ सय पशुचौपायाको मृत्यु भएको अनुमान

कैलाली र कञ्चनपुरमा केही महिनायता पशु–चौपायामा रेबिज रोगको संक्रमण बढ्दो छ । करिब तीन महिनाको अवधिमा यी दुई जिल्लामा २२ वटा पशु–चौपायामा रेबिज रोग देखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ ।

प्रयोगशाला प्रमुख डा. नरेशप्रसाद जोशीले कैलालीमा चार र कञ्चनपुरमा १८ वटा पशु–चौपायाको नमुना प्रयोगशालामा परीक्षण गर्दा रेबिज रोग पुष्टि भएको जानकारी दिए । गाई, भैँसी, बाख्रा र कुकुरमा रेबिज देखिएको उनले बताए । ‘यहाँ रेबिज देखिएको नेपालमै सबैभन्दा बढी संख्या हो,’ उनले भने, ‘परीक्षणमा नआएको संख्या अझै बढी हुन सक्ने देखिएको छ ।’ 

'संक्रमित पशुबाट मानिसमा पनि रेबिज सर्न सक्छ' जोशीले भने, 'संक्रमित पशुको र्‍याल मानिसकाे शरिरमा भएकाे घाउचोटमा लागेमा वा परेमा  पशुचौपायाबाट सजिलै रेबिज मानिसमा सर्न सक्छ । त्यसैले बिरामी पशुचौपायाको रेखदेख गर्दा होशियारी अपनाउनुपर्छ ।'

कैलाली, कञ्चनपुरमा मात्रै करिब तीन महिनायता रेबिजबाट थप डेढ सय पशु–चौपायाको मृत्यु भएको उनको अनुमान छ । परीक्षण गरिएकामध्ये धेरैजसो चौपायामा स्यालको टोकाइबाट रेबिज सरेको देखिएको जोशीले बताए । केही साताअघि कञ्चनपुरको कृष्णपुरमा एउटा स्यालमा रेबिज देखिएको थियो । पशु–चौपायालाई निरन्तर टोक्न थालेपछि स्थानीयले एउटा स्याललाई मारेका थिए ।

त्यसको नमुना परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । त्यहाँ थप चौपायामा रेबिज परीक्षण हुन सकेको छैन । त्यस क्षेत्रमा पशु–चौपायालाई रेबिजविरुद्धको खोप लगाउन कृष्णपुर नगरपालिकालाई आग्रह गरिएको डा. जोशीले बताए ।

दुई जिल्लामा परीक्षणमा नआएका धेरै चौपायामा रेबिज भएको हुन सक्ने उनको अनुमान छ । ‘किसानलाई पशु–चौपायामा रेबिजको लक्षण देखिए हामीलाई खबर गर्न आग्रह गरेका छौँ,’ जोशीले भने, ‘त्यस्तो खबर आए हामी परीक्षणका लागि २४सै घन्टा तयार छौँ । जुनसुकै वेला पनि सेवा दिइरहेका छौँ ।’