१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवाको निरन्तर ‘बाइपास’पछि पार्टीभित्रै निर्णायक संघर्षको तयारीमा महामन्त्रीद्वय थापा र शर्मा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३७:oo

सभापतिबाट अब कांग्रेसमा सुधार र रूपान्तरण सम्भव नहुने निष्कर्ष, कार्यकर्ता र जनस्तरबाट दबाब सिर्जना गराउने तयारी

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रै संघर्षको संकेत गरेका छन् । पछिल्लो समय मन्त्री चयनमा देउवाले आफूहरूलाई बाइपास गरेपछि असन्तुष्ट महामन्त्रीद्वय थापा र शर्मा देउवाविरुद्ध दबाबका आन्तरिक तयारीमा लागेका हुन् । महामन्त्री थापाले आइतबार यसबारे सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् ।

सभापति देउवाले आइतबार कपिलवस्तुका सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएसँगै महामन्त्री थापाको असन्तुष्टि बाहिरिएको थियो । सभापतिको कार्यशैलीसँग जोडिएर आएको प्रतिक्रियालाई लिएर थापाले उठाउन सक्ने सम्भावित कदमलाई लिएर कांग्रेसमा तरंग सिर्जना भएको छ । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णय मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेकपटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो,’ थापाले सामाजिक सञ्जालमा लेखेका थिए ।

महामन्त्री थापानिकट स्रोतका अनुसार उनी अर्का महामन्त्री शर्मासँग मिलेर कांग्रेसभित्र निर्णायक संघर्षको तयारीमा छन् । एक पदाधिकारीका अनुसार महामन्त्रीद्वय सभापति देउवाबाट अब सुधार र रूपान्तरण सम्भव छैन भन्ने निष्कर्षमा पुगेका छन् । यससँगै उनीहरू कार्यकर्ता र जनस्तरबाट दबाब सिर्जना गराउने तयारीमा छन् । तर, हालसम्म के–कस्ता योजना अगाडि बढाउने भन्ने ठोस योजना भने बनिसकेको छैन । ‘जनतामा जाने मुद्दामा मात्रै हामीलाई प्रयोग गरियो । पार्टीको निर्णय प्रक्रियामा निरीह बनाइयो । परिस्थिति बदलियो कांग्रेस जहाँको त्यहीँ छ । सभापतिले नचाहँदा महामन्त्रीले मात्रै अबजस लिने अवस्था आउनुहुँदैन,’ थापा र शर्माको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘छिट्टै कार्यकर्ता र जनस्तरमा जाने तयारी छ । आन्तरिक गृहकार्यमा हुनुहुन्छ ।’

२१ वैशाखमा सभापति देउवाले तीनजना मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । जसमा इतरबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बूको नाम पठाइयो । देउवाले आफूनिकट मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाए । स्वास्थ्यमा प्रदीप पौडेललाई मन्त्री बनाएर पठाउँदा र समावेशी हुने गरी नाम पठाउन महामन्त्रीद्वयको जोड थियो । थापा र शर्माले शपथअघि २२ वैशाखमा पदाधिकारी बैठकमा सभापतिमाथि प्रश्न उठाएका थिए । तर, देउवाले मिलाएर लैजाने भन्दै जवाफ फर्काए । 

बैठकमा महामन्त्री शर्माले कांग्रेस रूपान्तरणका लागि सभापति तयार नभए राजीनामा दिएर कार्यकर्तास्तरबाट रूपान्तरणका लागि दबाब सिर्जना गर्नुको विकल्प नरहेको चेतावनी दिएका थिए । उनले सभापतिले आफूखुसी गर्दै जाने हो भने महामन्त्री भइरहनुको औचित्य नहुने भन्दै खरो रूपमा प्रस्तुत भएका थिए । ‘पार्टी रूपान्तरणमा सभापतिज्यू तयार नहुने र सुस्त भइरहने हो भने कहिलेसम्म महामन्त्रीले अबजस लिइरहने ? त्यस्तै हो भने, म महामन्त्रीबाट राजीनामा दिन्छु, सांसद मात्रको भूमिकामा रहन्छु । त्यसवेला पार्टी रूपान्तरणका लागि कार्यकर्तास्तरबाट दबाब दिनुको विकल्प हुनेछैन । सभापतिज्यूले आफूअनुकूलको महामन्त्री बनाउनुस् । अब ‘रिफर्म अर रिजाइन नै हो,’ धुम्बाराही बैठकमा शर्माको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने ।

बैठकमा देउवाले पछि मन्त्री बनाउँदा समेट्ने र महामन्त्रीको भूमिकालाई सशक्त बनाउन आफू तयार रहेको आश्वासन दिएका थिए । तर, त्यो वचन सोमबारसम्म पनि टिकेन । देउवाले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाए । यसबारे पनि महामन्त्रीहरूलाई जानकारी दिइएन । देउवाले निरन्तर पेलेर निर्णय गर्न थालेपछि १४औँ महाधिवेशनपछि चुप बस्दै आएका महामन्त्रीद्वय थापा र शर्मा आन्तरिक संघर्षको मनस्थितिमा पुगेका हुन् । 

कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा गएपछि तीन मन्त्री र एक राज्यमन्त्री इतर समूहलाई दिने वचन देउवाको थियो । उपनिर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, डा. शेखर कोइरालासँग सहमत भएपछि देउवाले इतरबाट दुईजनालाई मन्त्री बनाए । यससँगै कोइरालाले समेत आफ्नो समूहका लागि पर्याप्त अडान नराखेको भन्दै महामन्त्री थापा असन्तुष्ट बनेको उनीनिकट नेताहरूको भनाइ छ । महामन्त्रीद्वयले युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका थिए । तर, त्यसमा न त कोइरालाले साथ दिए, न देउवा नै तयार भए । न त महामन्त्रीले भनेका नाम नै मन्त्री बन्ने अवस्था रह्यो । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य महामन्त्रीद्वय थापा र शर्माको अभिव्यक्ति हतासमा आएको बताउँछन् । महामन्त्रीद्वय देखिने गरी संघर्ष गर्न चुकेको उनको भनाइ छ । ‘महामन्त्रीहरूबाट आएको अभिव्यक्ति पलायनवादी र समस्याबाट भाग्ने प्रकृतिको छ । उहाँहरू पार्टी संरचनाबाट भन्दा पनि पब्लिक प्रेसरबाट महामन्त्रीमा आउनुभएको हो । कांग्रेसको संरचनाले हो भने उहाँहरूलाई यो भूमिकामा सम्भव थिएन । भावी नेतृत्वका रूपमा विश्वास गरेर जनस्तर र कार्यकर्ताबाट अनुमोदन भएका युवा नेताहरू यति छिट्टै थाक्नु हुँदैनथ्यो । पुराना र नयाँ पुस्ताको शक्तिसंघर्ष सधैँ चलिरहन्छ । उहाँहरू नयाँ तौरतरिकाबाट लड्न तयार हुनुपर्छ, यसरी भाग्ने होइन । ठीक मुद्दा उठाएर लड्ने हो, लडेको पनि देखिनुपर्छ । उहाँहरूमा त्यो देखिएन आवेगका भरमा यस्ता अभिव्यक्ति आए,’ आचार्य भन्छन् ।

नेता प्रदीप पौडेल महामन्त्रीद्वय थापा र शर्माको अभिव्यक्तिलाई लिएर पार्टीमा सुधारको आवश्यकतालाई अभिव्यक्त गरेको बताउँछन् । उनले अब रूपान्तरणको विषयमा छलफल भइरहेको जानकारी दिए । पार्टी यथास्थितिमा चल्दैन । पार्टीमा निराशा छाएको अवस्था छ । कांग्रेसमा सुधार जरुरी छ । अब नेतृत्वलाई मर्यादा पुग्दैन कि अथवा नेतृत्व चिढिन्छ कि अथवा म जिम्मेवार मान्छे हुँ यो सिस्टमभित्रै बसेर कहिले बदलिन्छ पर्खेर बस्नुपर्छ भन्ने स्थिति अब हुनुहुँदैन । अब सुधार गर्न सक्रिय हुनुपर्छ । के–कस्ता अभियानबाट पार्टीमा सुधार गर्न सकिन्छ छलफलकै क्रममा छौँ,’ उनले भने ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले आफूलाई चाहिने समयमा प्रयोग मात्र हुने र केही कुरा पनि सुनुवाइ नहुने अवस्थाका कारण महामन्त्रीद्वयको यस्तो आवाज बाहिर आएको बताउँछन् । नेतृत्वबाट निर्णय प्रक्रियामा आफूखुसी निर्णय लिँदा थापा र शर्माले फरक ढंगले चल्न खोजेको उनको भनाइ छ । ‘यदि पार्टीमा रूपान्तरण, पुस्तान्तरण र सुधार नभए कांग्रेस र गगन–विश्वजीहरूको भविष्यमाथि समेत प्रश्नचिह्न खडा हुने भएकाले उहाँहरूले अब पार्टी र आफ्नै भविष्यका लागि निर्णायक पहल र संघर्ष गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन,’ उनले भने । 

केवल कांग्रेस रूपान्तरण र सुधारको मात्रै होइन, कांग्रेस शुद्धीकरणको एजेन्डालाई समेत सशक्त रूपमा उठाउनुपर्ने देखिएको वाग्लेले बताए । ‘उहाँहरू केवल कार्यकर्ता पंक्तिमा मात्रै होइन, कांग्रेस रूपान्तरण, पुस्तान्तरण, सुधार तथा शुद्धीकरणको एजेन्डा लिएर जनतासमक्ष नै जानुपर्छ, त्यसैले उहाँहरूले समुन्नत नेपाल तथा कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर जनतासमक्ष जानु उपयुक्त हुनेछ,’ उनले भने ।

शेखर–गगन समूहका नेता गुरुराज घिमिरे महामन्त्रीद्वयको भनाइलाई तत्कालका लागि सकारात्मक नै लिनुपर्ने बताउँछन् । महामन्त्रीद्वय थापा र शर्माबाट रूपान्तरण गर्ने या निकास दिने भन्ने आशयको अभिव्यक्ति आएकाले समयले पुष्टि गर्ने उनको भनाइ छ । ‘उहाँहरूले नै काम गर्न सक्नुभएन भन्ने रियलाइजेसन भएको अवस्था छ । कोसिस गर्दागर्दै पनि गर्न सकिएन भन्ने अभिव्यक्ति आएको छ । या त रूपान्तरण गर्ने या निकास दिने भन्ने उहाँहरूको आशय देखिन्छ । के गर्नुहुन्छ समयक्रमले बताउला । अहिलेलाई सकारात्मक नै मान्नुपर्छ,’ उनले भने ।

नेता डा. नारायण खड्का महामन्त्री तहका पदाधिकारीबाट पार्टीमा पर्याप्त छलफल नगरी यस्ता अभिव्यक्ति बाहिर आउनु उचित नहुने बताउँछन् । पदाधिकारीले आफ्नो जिम्मेवारीसमेतको बोध गर्नुपर्ने उनको भनाइ छ । ‘पदाधिकारी तहमा अवश्य पनि बढी जिम्मेवारी हुन्छ । यस्ता विषय पार्टी बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्छ । पार्टीमा धेरै समस्या हुन सक्छन्, छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्छ,’ उनले भने ।

ad
ad