मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी मस्को
२०८० बैशाख २५ सोमबार ०८:४८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसी राष्ट्रपति पुटिनविरुद्ध रचिएका हत्या–प्रयासको इतिहास

Read Time : > 1 मिनेट
एजेन्सी, मस्को
२०८० बैशाख २५ सोमबार ०८:४८:००

युक्रेनले प्रक्षेपण गरेका दुईवटा ड्रोनलाई बुधबार खसालिदिएको बताउँदै क्रेमलिनले किभबाट राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या–प्रयास भएको दाबी गर्‍यो । यद्यपि, रुसी दाबीलाई युक्रेनले ठाडै अस्वीकार गरेको छ । आक्रमणलाई ‘अतिवादी हमला’को संज्ञा दिँदै रुसले आफूले चाहेको स्थान र समयमा प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति कार्यालयलाई क्षति पुर्‍याउने उद्देश्यले रातिको समयमा ड्रोन हमला भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दाबी गरेका छन् । तर, उक्त घटनामा कसैको पनि हताहती भएको छैन र घाइते पनि कोही भएका थिएनन् । आक्रमणको समयमा पुटिन मस्कोबाहिर आफ्नो नोभो ओगारोभो निवासमा रहेको पनि प्रवक्ताले बताएका छन् ।

बुधबारको आक्रमण पुटिनलाई निसाना बनाइएको पछिल्लो प्रयास भएको र पुटिन यसअघि हत्याका पाँचवटा प्रयासमा बच्न सफल भएको क्रेमलिनको भनाइ छ । सन् २०२२ को मेमा युक्रेनका सैन्य गुप्तचर प्रमुख मेजर जनरल किरिलो बुडानोभले रुसी राष्ट्रपतिको हत्याको असफल प्रयास भएको बताएका थिए । रुसले गत वर्षको फेब्रुअरी २४ बाट युक्रेनमा आक्रमण थालेको केही समयपछि कृष्ण सागर र क्यास्पियन सागरको बीचमा पर्ने ककेसस क्षेत्रमा पुटिनमाथि आक्रमण प्रयास भएको जनरल बुडानोभले युक्रेनको अनलाइन समाचार संस्था युकरेन्स्का प्रभदालाई बताएका थिए ।

त्यस्तै, सन् २०१२ मा रुसी र युक्रेनी सुरक्षा सेवाहरूले राष्ट्रपति चुनावअघि पुटिनको हत्या गर्ने षड्यन्त्रलाई विफल पारेको युक्रेनको प्रति गुप्तचर निकायका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले लेखेको थियो । यो घटनाको सम्बन्धमा दुई व्यक्तिलाई पक्राउ गरिएको थियो । बिबिसीका अनुसार तीमध्ये एक ओडेसाको ब्ल्याक सी पोर्टबाट समातिएका थिए । अन्तर्राष्ट्रिय खोजी सूचीमा रहेका दोस्रा व्यक्ति भने त्यसको एक महिनापछि पक्राउ परेका थिए ।

यसैगरी, बेलायती अखबार द सन्डे टाइम्सको रिपोर्टअनुसार सन् २००३ मा बेलायतको आतंकवादविरोधी प्रहरीले अक्टोबरको भ्रमणका क्रममा पुटिनको हत्याको षड्यन्त्रलाई विफल पारेको थियो । षड्यन्त्रमा संलग्न भएको आरोपमा दुई व्यक्ति पक्राउ परेका थिए । तीमध्ये एकजना रुसी पूर्वगुप्तचर सेवाका तालिम प्राप्त बन्दुकधारी रहेको उक्त अखबारको दाबी छ । अखबारका अनुसार उनले पुटिनलाई टाढैबाट लुकेर गोली हान्ने योजना बनाएका थिए ।

सन् २००२ मा पनि पुटिनको अजरबैजानको राजकीय भ्रमणको क्रममा एक इराकीलाई उनको हत्याको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो । न्युजडटकमडटएयूको रिपोर्टअनुसार ती व्यक्तिले सन् २००२ को जनवरीमा अफगानिस्तानी र चेचेन विद्रोहीसँगको सहयोगमा पुटिन हत्याको षड्यन्त्र रचेका थिए । तर, उनलाई आक्रमणलाई आकार दिनुअघि नै गिरफ्तार गरियो र हत्याको षड्यन्त्र रचेको आरोपमा १० वर्षको जेल सजाय सुनाइयो ।

 त्यसैगरी सन् २००२ को अन्तताका नै रुसी अधिकारीले पुटिनको कारलाई निसाना बनाएर उनको हत्या गर्ने रचिएको अर्काे षड्यन्त्रबारे खुलासा गरेका थिए । राष्ट्रपति पुटिनलाई क्रेमलिननजिकैको बाटोमा सवारी चलाउने क्रममा हत्या गर्ने षड्यन्त्र रचिएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणकारीले सडकमा विस्फोट गराउन भनेर थुपारेका ४० किलोग्राम विस्फोटक पदार्थ जफत गरिएको थियो । सडकमा विस्फोटक पदार्थ बरामद भएपछि पुटिनको कारलाई अर्को रुटबाट सुरक्षित स्थानमा लगिएको थियो ।

 पुटिनमाथि हमला गरेका छैनौँ :  जेलेन्स्की
रुसले क्रेमलिनमा दुईटा ड्रोन खसालेको भन्दै युक्रेनले रुसी नेता भ्लादिमिर पुटिनको हत्याको प्रयास गरेको भनेर लगाएको आरोपलाई युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले ठाडै अस्वीकार गरेका छन् । ‘हामीले पुटिनमाथि आक्रमण गरेका छैनौ । हामी हाम्रो भूमिमा नै लड्छौँ । हामी हाम्रो गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,’ जेलेन्स्कीले हेलसिन्कीमा नर्डिक नेताहरूसँगको पत्रकार सम्मेलनमा भने, ‘हामी पुटिन वा मस्कोमाथि आक्रमण गर्दैनौँ । हामीसँग यसका लागि पर्याप्त हतियार पनि छैन ।’