१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८o बैशाख २५ सोमबार o७:३३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसीले प्रश्न उठाएपछि आज एन्फाको आपत्कालीन बैठक

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार o७:३३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यद्वारा विभिन्न निर्णय पास गराउन सोमबार आपत्कालीन बैठक बोलाएका छन् । एन्फा महासविच किरण राईले हस्ताक्षर गर्दै एन्फा कम्प्लेक्समा दिउँसो २ बजेलाई बैठक बोलाएका हुन् । ‘संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपत्कालीन बैठकमा उपस्थितिका लागि अनुरोध गर्दछु,’ उनले लेखेको पत्रमा भनिएको छ । 

गत वर्ष असारमा एन्फामा निर्वाचित भएपछि अध्यक्ष नेम्वाङले एउटा पनि वैधानिक बैठक पूरा गर्न सकेका छैनन् । विवादैविवादबीच बैठकहरू स्थगित हुँदै आएका छन् । वैधानिक रूपमा बैठक नगराए पनि अध्यक्ष नेम्वाङले आफूखुसी निर्णय गर्दै आइरहेका छन् । यसै कारण एन्फाभित्र आन्तरिक विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । सत्तापक्षले यसअघि पनि आपत्कालीन बैठक डाके पनि पूर्णता दिलाउन सकेका थिएनन् । 

गत वर्षको ६ असारमा एकै समूहबाट निर्वाचित पदाधिकारी नै अहिले दुई धारमा छन् । केन्द्रीय सदस्य रूपेश अधिकारीले आपत् परेका वेला मात्र एन्फा अध्यक्षले आपत्कालीन् बैठक बोलाउनुपर्ने तर्क गरेका छन् । ‘अति नै विषम परिस्थिति र आपत् आउँदा मात्र आपत्कालीन भन्ने हो,’ अधिकारले नयाँ पत्रिकासँग भने, ‘बारम्बार आपत्कालीन भनी बैठक बोलाउँदा एन्फा कसरी चल्छ भन्ने स्पष्ट छ, अध्यक्षले यसको औचित्य पुष्टि गर्नुपर्छ ।’ 

१७ फागुनको बैठकलाई एएफसीले मान्यता दिएन
एन्फाको १७ फागुनमा बसेको बैठकले वैधानिकता पाउन सकेन । त्यसपछि सत्तापक्षले आइतबार पुनः आपत््कालीन बैठक बोलाएको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले पछिल्ला बैठकलाई मान्यता दिएको छैन । ‘अध्यक्ष समूहले १७ फागुनको बैठकलाई वैधानिकता दिन खोजेपछि एएफसीमा विभिन्न उजुरी पर्‍यो, यसपछि यो बैठकले मान्यता पाएन,’ एन्फाका एक अधिकारीले भने, ‘त्यसपछि उहाँहरूले आपत्कालीन बैठकको रूपमा पुराना निर्णयहरू पारित गराउन बैठक बोलाउनुभएको हो ।’ 

१७ फागुनमै बसेको बैठकले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालीका भिसेन्जो अल्बर्टाे एनेसलाई नियुक्त गरेको थियो । भिसेन्जोको नियुक्ति अझै विवादास्पद छ । यसैगरी, सहमहासचिवमा दामोदर भट्टराई, अरुणमान जोशी, वसन्त अर्याल तथा सहकोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्त गरेको थियो । तीन उपाध्यक्ष (दीपक खतिवडा, विराटजंग शाही, दीर्घबहादुर (कुमार) केसीसँगै आठ सदस्यले बैठक छाडेका थिए । उपाध्यक्ष खतिवडाले अध्यक्ष नेम्वाङले तानाशाही प्रवृत्ति देखाउँदै बैठक बोलाएको आरोप लगाएका थिए । 

सदस्य को कता ?
अध्यक्ष नेम्वाङ समूहलाई कोरम पुर्‍याउन गाह्रो छ । अध्यक्ष नेम्वाङका साथमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा तथा सदस्यहरू पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, दीपेन्द्र धिमाल, सरला श्रेष्ठ, मणिराज विष्ट र अनिल मल्ल मात्रै खुलेका छन् । यस समूहको प्रस्ट बहुमत छैन । मनीष जोशी, भरत बुढ थापा, टीका लामा दोहोरो भूमिकामा रहँदा दुवै समूहलाई समस्या परेको छ । महासचिव राई, कोषाध्यक्ष जोशी, अध्यक्ष नेम्वाङ सल्लाहकार नवीन पाण्डे बहुमत सदस्य आफ्नो समूहमा देखाउन कस्सिएका छन् । चैत दोस्रो साता ढाका भ्रमणपछि थापा र लामा नेम्वाङ समूहमा पुगे । 

 मच्छिन्द्रले एपिएफलाई हरायो
ओलावाले आफिजले अन्तिम इन्जुरी समयमा गोल गरेपछि आइतबार साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गरेको छ । जितसँगै मच्छिन्द्र चौथो स्थानमा उक्लिएको छ । मच्छिन्द्रले १५ खेलबाट २४ अंक बटुलेको छ । दोस्रो स्थानको जावलाखेल युथ र तेस्रो स्थानमा रहेको थ्री स्टारले पनि समान २४ अंक बटुलेका छन् । तर, हेड टु हेड नतिजामा पछि परेका कारण मच्छिन्द्र चौथो स्थानमा सीमित भएको हो । दशरथ रंगशालामा मच्छिन्द्रसँग पराजित एपिएफले १५ खेलबाट १९ अंक बटुल्यो ।

एपिएफ नवौँ स्थानमा छ । खेलको ३७औँ मिनेटमा एपिएफले अग्रता लिएको थियो । विदेशी खेलाडी अर्मान्ड बेठमले डिबक्सभित्र सहजै गोल गर्दा एपिएफ अगाडि बढ्यो । मच्छिन्द्रले पहिलो हाफको इन्जुरी समयमा १–१ को बराबरी गोल फर्कायो । मच्छिन्द्रका लागि आमोलाजा करिमले उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा ओलावाले आफिजले उत्कृष्ट गोल गर्दै मच्छिन्द्रको जित पक्का पारे । मच्छिन्द्रले खेलको १७औँ मिनेटमा सुरज विक र ३३औँ मिनेटमा विमल घर्तीमगरलाई चोटका कारण गुमाएको थियो 

 संकटाले बटुल्यो एक अंक 
रेलिगेसन क्षेत्र छाड्ने क्रममा संकटा क्लबले शीर्ष ६ भित्र रहेको त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । खेलको अन्तिम समयमा संकटाले गोल गर्दै सम्भावित हार टारेको हो । बराबरीसँगै संकटाले १५ खेलबाट १७ अंक बटुल्यो । संकटा दशौँ स्थानमा उक्लिएको छ । आर्मी बराबरीसँगै १५ खेलबाट २१ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ । संकटाका लागि स्ट्राइकर युसुफ अथ्रिसले अन्तिम इन्जुरी समयमा पेनाल्टी गोल गरेका थिए ।

 पहिलो हाफमा आर्मीले कप्तान भरत खवासको गोलबाट अग्रता लिएको थियो । यता, संकटा १५ खेलबाट १७ अंकका साथ दशौँ स्थानमा उक्लिएको छ । खेलको १८औँ मिनेटमा कप्तान भरत खवासले आर्मीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा भरत चौधरीले जुनिअरलाई फल गरेपछि संकटाले पेनाल्टी पायो । अथ्रिसले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट बचाए ।