
ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै परिपत्र गरेर कार्यक्रम आयोजना गरेको प्रदेश खेलकुद बोर्डका सदस्य सचिवलाई सरकारले सातदिने स्पष्टीकरण सोधेको छ।
कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई पुरानै लेटरप्याड प्रयोग गरेर परिपत्र र कार्यक्रम गरेकोमा स्पष्टीकरण सोधेको हो। सदस्यसचिव वाग्लेलाई मन्त्रालयले १७ वैशाखमा गोप्य परिपत्र गर्दै सरकारको निर्देशन पालना गर्न अटेरी गरेकोमा सात दिनभित्र चित्त बुझ्दो जावाफ दिन निर्देशन दिएको छ। मन्त्रालयले बोर्डको बैंक खातासमेत रोक्का गरेको छ।
वाग्ले एकीकृत समाजवादी पार्टीनिकट हुन्। उनलाई पूर्वमुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले नियुक्त गरेको थियो। हाल कोसी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको गठबन्धन सरकार छ।