मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेवानि अध्यक्षलाई क्यानले फेरि सोध्यो स्पष्टीकरण

‘तपाईंलाई एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०९:०७:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । ग्राउन्ड ह्यान्डलिङसम्बन्धी संशोधित नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा संशोधित सेवा शुल्कमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन नगरेको विषयमा क्यानले बुधबार तीनबुँदे स्पष्टीकरण सोधेको हो ।

काठमाडौंको त्रिभुवन र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ । तर, नियामक निकायको नीतिगत निर्णय कार्यान्वयनमा ढिलासुस्ती तथा अवज्ञा गरेको भन्दै कार्यकारी अध्यक्षलाई निगमको ‘अकाउन्टेबल म्यानेजर’बाट किन नहटाउने ? भन्दै  स्पष्टीकरण सोधेको हो । यस्तै, मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण पनि क्यानले अधिकारीसँग मागेको छ । 

क्यानले स्पष्टीकरणको दोस्रो बुँदामा सोधेको छ– ‘नेपालको उड्डयन क्षेत्रको नियामक निकाय क्यानको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागू गर्नुपर्ने गरी स्वीकृत गरेको ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस चार्ज– २०२२’ बमोजिमको संशोधित ग्राउन्ड ह्यान्डलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई सञ्चालनमा आएका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न गरिएको प्रयास समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने ?

विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कसम्बन्धी क्यानले गरेको नीतिगत निर्णय कार्यान्वयन गर्न पत्राचार गर्दा पनि निगमले कार्यान्वयन नगराउनुको कारणसहित तीन दिनभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको छ ।

क्यानको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम (५)को उपनियम (७)मा भएको ‘विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराउनका लागि अनुमति प्राप्त संस्थाले संकलन गर्ने भूमिस्थ प्रबन्ध सेवा शुल्क प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ’ भन्ने कानुनी व्यवस्था मन्त्रिपरिषद्बाट ३० चैत ०७८ मा स्वीकृत भई १४ जेठ ०७९ बाट कार्यान्वयनमा आएको थियो । 

सोही कानुनी व्यवस्थाबमोजिम त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएबापत संकलन गर्न पाउने संशोधित सेवा शुल्कसम्बन्धी व्यवस्था ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस चार्ज– २०२२’ क्यानबाट ७ भदौ ०७९ मा स्वीकृत भई १५ कार्तिक ०७९ बाट लागू गर्न ८ भदौ ०७९ मा निगमलाई पत्राचार गरे पनि कार्यान्वयन नभएको नियमनकारी निकायको गुनासो छ ।

भैरहवा र पोखरामा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न क्यानले एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको थियो । यस्तै, ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरी कार्यान्वयनका लागि निगमलाई पत्राचार गरेको थियो । नयाँ विमानस्थलमा छुटैछुट दिइए पनि अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित भने हुन सकेनन् ।