
घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि उचालेसँगै नेपालले बनायो चार महिनापछि पाकिस्तानमा हुने एसिया कपमा स्थान, ७ सेप्टेम्बरमा भारतसँग र ९ मा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै एसिसी प्रिमियर कपको च्याम्पियन बनेपछि समर्थकसँग खुसी साट्दै नेपाली क्रिकेट टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नेपालले एसिसी प्रिमियर कप जितेको छ । मंगलबार सम्पन्न फाइनलमा युएईलाई सात विकेटले हराउँदै राष्ट्रिय टोलीले ट्रफी उचालेको हो । यससँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । क्रिकेटका शक्तिराष्ट्रविरुद्धको खेल विश्वले हेर्नेछ ।
२१ वर्षअघि पनि नेपाल एसिया कपमा छनोट भएको थियो । तर, भारत र पाकिस्तानबीचको कारगिल युद्धका कारण प्रतियोगिता नै नभएपछि नेपालले क्रिकेटका शक्ति टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन । दुई दशकपछि पुनः एसिया कपको बाटो तय गरेको नेपाल पाकिस्तान र भारत रहेको समूह ‘ए’मा परेको छ । यद्यपि, भारत र पाकिस्तानका आ–आफ्ना अडानका कारण यसपटक पनि एसिया कप हुने/नहुने अन्योल छ ।
नेपाली कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताए । ‘हामीले सानैदेखि भारत र पाकिस्तानको खेल हेर्दै आएका छौँ, अब उनीहरूकै स्तरमा खेल्न ठूलो अवसर आएको छ,’ उनले भने, ‘एसिया कपमा छनोट भएपछि अब नेपालको क्रिकेट सबैले चिन्नेछ, एसिया कपमा हाम्रो प्रदर्शन विश्वले हेर्नेछ ।’
नेपालको अर्को फड्को
पछिल्ला दुई महिनामा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा फड्को नै मारेको छ । गत फागुनमा नेपाल जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगेको थियो । यसका साथै आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकविदसीय मान्यता जोगायो । ०८० वर्षको सुरुमै एसिया कपमा स्थान बनाएको छ ।
सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सदस्य बनेको नेपालले सोही वर्ष नै एसिसी ट्रफी खेल्यो । यसपछि नेपालले आइसिसीले आयोजना गरेको ठूलो प्रतियोगितामध्ये एक टी–२० फरम्याटको विश्वकप हो । सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा नेपालले स्थान बनाएको थियो । जहाँ नेपालले तत्काल हङकङ र अफगानिस्तानलाई हराएको थियो ।
सन् २०१० विश्व क्रिकेट डिभिजन ५, सन् २०१२ डिभिजन ४, सन् २०१२ एसिसी ट्रफी, सन् २०१३ मा विश्व डिभिजन ३ मा नेपालले उपाधि हात पार्यो । सन् २०१८ मा नेपालले पहिलोपटक एकविदसीय मान्यता प्राप्त गर्यो ।
गुल्सनको अलराउन्ड प्रदर्शन
एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध अलराउन्डर गुल्सन झाले सानदार प्रदर्शन गरे । गुल्सनले अर्धशतक बनाउँदै नेपालको ब्याटिङ इनिङ्सलाई बलियो बनाए । तेस्रो नम्बरमा क्रिजमा आएका उनले २२–३ को नाजुक अवस्थामा रहेको नेपाली टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । ८४ बल सामना गरेका गुल्सनले अविजित ६७ रन बनाउन तीन चौका र ६ छक्का प्रहार गरे ।
त्रिवि मैदानको ओसिलो मैदान र पिच वातावरणअनुसार प्रशिक्षक मोन्टी देसाईले गुल्सनलाई पहिलोपटक दोस्रो क्रममा ब्याटिङ गर्न पठाए । ‘प्रशिक्षकले विकेट हेरेर जे पनि हुन सक्छ, मानसिक रूपमा तयार हुनु भन्नुभएको थियो,’ गुल्सनले भने, ‘मेरो स्ट्रेन्थ नै लामो सट हान्ने हो । यो ठूलो र दबाबपूर्ण खेल हो ।’ सन् २०२१ सेप्टेम्बरमा गुल्सनले अमेरिकाविरुद्ध राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा गुल्सनको यो दोस्रो अर्धशतक हो । गुल्सनले चौथो विकेटका लागि भीम सार्कीसँग ९६ रनको साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रन बनाए । नेपालले एक रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । युएईका रोहन मुस्तफाले दुई तथा आयन खानले एक विकेट लिए ।
ह्याट्रिकबाट चुके ललित
नेपालका स्पिनर ललित राजवंशी ह्याट्रिकबाट चुकेका छन् । सोमबार फाइनल खेल स्थगित हुँदा ललित ह्याट्रिक बलमा थिए । सोमबार २७.३ ओभरमा खेल रोकिँदा ललितले लगातार बलमा विकेट लिएका थिए । यही अवस्थाबाट युएईले ब्याटिङ सुरु गरेको थियो । ह्याट्रिक बललाई जुनाद सिद्दिकले रोकेका थिए ।
रिजर्भ डेमा युएईले युएईले ५.४ ओभर खेल्दा ११ रन बटुल्यो । युएईका अन्तिम विकेट ललितले नै लिए । उनले चार विकेट लिए । उनले ७.१ ओभरमा दुई मेडनसहित १४ रन खर्चिएका थिए । यसबाहेक करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट हात पारे ।
सन्दीप सर्वाेत्कृष्ट खेलाडी
नेपालका लेगस्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । अलराउन्ड प्रदर्शन गरेका सन्दीपले प्रतियोगितामा १३ विकेट लिनुका साथै ५५ रन बनाए । युएईका वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान चुनिए । वृत्यले ६ खेलमा दुई शतक र एक अर्धशतकसहित चार सय ५४ रन बनाएका थिए । उनले प्रतियोगिताभर ४४ चौका र १८ छक्का प्रहार गरे । ओमानका बिलाल खान ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट बलर चुनिए ।
दर्शकको अपार माया
त्रिवि मैदानमा दर्शकको उपस्थित उत्साहजनक रह्यो । खेलाडीको प्रदर्शन र क्रिकेटको उपलब्धिसँगै दर्शक मैदानमा बढ्ने क्रम जारी छ । सोमबार वर्षाले खेल प्रभावित हुँदासमेत दर्शक मैदानमा भिज्दै बसेका थिए । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले फ्री टिकट व्यवस्था गरेको थियो । कीर्तिपुर रंगशालाभित्र, बाहिर तथा वरपरका रूखमा समेत दर्शक खचाखच भरिएका थिए ।
कप्तान रोहितले दर्शकप्रति कृतज्ञ देखाए । ‘उहाँहरू निकै सम्मानित हुनुहुन्छ । पानीमा आएर, जबसम्म खेल सकिँदैन, त्यति वेलासम्म उभिएर मैदानमै बस्नुहुन्छ । त्यो एकदमै गाह्रो काम हो । तैपनि मैदान आएर हामीलाई माया गरिराख्नुभएको छ । सबैप्रति कृतज्ञ छु ’ रोहितले भने । दुवै खेलमा १५ हजारभन्दा माथि दर्शकको उपस्थिति रहेको अनुमान गरिएको छ ।
मोन्टीको कुशल प्रशिक्षण, सफल रणनीति
गत माघमा नियुक्त भएका प्रशिक्षक मोन्टी देसाई नेपाली टोलीका संकट–मोचन र रणनीतिकार हुन् । उनी आएयता नेपाली टोलीको प्रदर्शन उच्च छ । भारतीय नागरिक देसाईको प्रशिक्षणमा १९ खेल खेल्दा एक खेल मात्रै हारेको छ । एक खेल अनिर्णीत भयो । आइसिसी विश्वकप लिग २ को १२ मध्ये ११ खेल जितेको थियो । एसिसी प्रिमियर लिगका ६ र एक अभ्यास खेलमा नेपाल अपराजित रह्यो ।
उनले ‘ह्याप्पी ड्रेसिङ’ नारा लगाएका छन् । जुन निकै सफल देखिन्छ । त्यसैले पनि नेपाली टोली निकै सन्तुलित छ । हरेक खेलाडी व्यक्तिगत रूपमा सफल देखिएका छन् । जुनसुकै रोलमा खेल्न सफल भएका छन् । नेपाली टोलीका कप्तान रोहित भन्छन्, ‘यो सबै श्रेय मोन्टी सरलाई जान्छ । ड्रेसिङ रुमलाई जसरी सन्तुलित बनाइराख्नुभएको छ, त्यसले खेलमा निकै महत्व राख्छ ।’
भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर : रोहितकुमार पौडेल, कप्तान, नेपाल
एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटको एकदमै महत्वपूर्ण छ । र धेरै खुसी लागिरहेको छ । प्रतियोगिता सुरु हुनुभन्दा अघि जे सोचेका थियौँ, त्यो पूरा भएको छ । एसिया कपमा पुगेको अनुभव निकै ठूलो छ । हामीले सानैदेखि भारत र पाकिस्तानको खेल हेर्दै आएका थियौँ । हाम्रो लागि भारत, पाकिस्तानसँग खेल्न पाउनु निकै ठूलो अवसर हो । एसिया कपमा छनोट भइसकेपछि नेपालले पनि क्रिकेट खेल्छ भनेर सबैले चिन्छन् । किनभने त्यो स्टेजमा पुग्न नसकेको सात–आठ वर्ष भइसक्यो । यसको सुरुवात भएको छ, आउने दिनमा अझ राम्रो गर्दै जानेछौँ । सन् २०१४ मा विश्वकप पुग्दा त्यसबाट हामी सबै प्रभावित भएका थियौँ । अबको एसिया कपबाट पनि त्यसरी नै धेरैजनामा सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ । एसिया कपमा गर्ने प्रदर्शनबाट सबैजनाले नेपाली टिमलाई पहिचान गर्नेछन् । राम्रो टिमसँग खेलेपछि सबैको नजरमा परिन्छ । भारत, पाकिस्तानसँग खेल्दा विश्वले हेर्छ । त्यहाँ गरेको प्रदर्शनबाट विश्वले चिन्नेछ । यसैकारण यो सबैका लागि एकदमै राम्रो अवसर हो ।
प्रशिक्षकको रणनीतिअनुसार खेलेँ : गुल्सन झा
विकेट हेरेर प्रशिक्षकले मलाई जे पनि हुन सक्छ, तिमी आफूलाई मानसिक रूपमा तयार हुनु भन्नुभएको थियो । म तयारी अवस्थामा थिएँ । क्रिकेट ब्याट र बलको खेल हो । प्रशिक्षकले मलाई आफ्नो स्ट्रेन्थअनुसार खेल भन्नुभएको थियो । मेरो स्ट्रेन्थ नै लामो सट हान्ने हो । यो ठूलो र दबाबपूर्ण खेल हो । यहाँ राम्रो ब्याटिङ गर्दा आत्मविश्वास अझ बढ्छ ।
कति पाउँछन् नेपाली क्रिकेटरले तलब ?
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई हरेक वर्ष वर्गीकरण गर्दै पारिश्रमिक दिने गरेको छ । १८ पुरुष र १२ महिला गरी ३० खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । जसअनुसार पुरुषतर्फ ‘ए’ श्रेणीका खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीकाले मासिक ३० हजार पारिश्रमिक पाउँछन् । ‘ए’ श्रेणीमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन् । ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् । त्यस्तै, ‘सी’ श्रेणीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् । यसअघि ‘ए’ श्रेणीमा रहेका सन्दीप लामिछानेलाई अदालतमा मुद्दा चलेपछि वर्गीकरणमा समावेश गरिएको थिएन ।
महिला खेलाडीमा भने ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा परेकाले क्रमशः १५, १२ र १० हजार पाउँछन् । ‘ए’ श्रेणीमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने ‘सी’ श्रेणीमा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी वेगम रहेका छन् ।