धार्केमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी खुल्यो

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

धादिङको गणेश खोला पुलनजिकै सडक भासिएर ठप्प बनेको पृथ्वी राजमार्ग करिब १८ घन्टापछि एकतर्फी रूपमा खुलेको छ । सोमबार अपराह्न करिब ४ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा ग्याबियन जाली भरेपछि एकतर्फी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका- ८ सिमाना जोड्ने पुलनजिकै भासिँदा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो । भासिएको भागमा ग्याबियन जाली लगाएर उकास्ने र भ्वाङ परेको भाग पुर्ने कार्यपश्चात् राजमार्ग सञ्चालन गरिएको हो। 

मर्मतका लागि नेपाली सेना, सशत्र प्रहरी परिचालन गरिएको छ । जैसवारले भने, ‘अहिले एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ । तर, दुवैतर्फ सञ्चालन गर्न समय लाग्छ ।’

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्थानीयहरू, राजमार्गमा यात्रा गरिरहेका यात्रु सबैको सहयोगमा भासिएको भाग मर्मत गरिएको हो । सडक सञ्चालन भएसँगै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

सुझावित समाचार