
धादिङको धार्केमा गणेश खोला पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प हुँदा सयौँ यात्री प्रभावित भएका छन् ।
धादिङको धुनीबेँसी नगरपालिका ६ धार्के र थाक्रे गाउँपालिका ८ सिमाना जोड्ने पुलनजिकै सडक भासिएपछि राजमार्ग दुवैतर्फबाट ठप्प भएको छ ।
यातायात ठप्प भएपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । नयाँ पुलको निर्माण कार्य भइरहेको र वर्षाका कारण सडक भासिएपछि आवागमन अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।
‘बीचसडकमै भ्वाङ परेको छ,’ उनले भने, ‘अहिले दुवैतर्फ सवारी बन्द छ । नगरपालिका र गाउँपालिकासहित हामी अवरुद्ध सडक खुलाउन र वैकल्पिक बाटो खोज्न लागिपरेका छौँ ।’
उनले काठमाडौं भित्रने र बाहिरिने सवारीसाधनहरूलाई वैकल्पिक बाटोबाट आवागमन गराउने प्रयास भैरहेको जानकारी दिए ।
अवरुद्ध राजमार्ग आज खुल्ने सम्भावना न्यून रहेको उनले बताए । ‘अवरुद्ध बनेको राजमार्ग सम्भवत: भोलि मात्रै खुलाउन सकिएला,’ उनले भने, पहिरो गएको भागमा वाल लगाउने र भ्वाङ परेको भाग पुर्ने काम भइरहेको छ ।’
काठमाडौं उपत्यका आसपासका बाहेक ६८ जिल्लाबाट पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु आवतजावत गर्छन् ।
धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट काठमाडौं भित्रने र बाहिरिनेहरूले नुवाकोटको त्रिशूलीबाट छहरे ढिकुरेको बाटो प्रयोग गर्न सक्ने बताइएको छ । पूर्व–पश्चिमबाट काठमाडौं आउजाउ गर्ने सवारीसाधनले हेटौँडा हुँदै दामन पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै, हेटौँडा, भैँसे, भीमफेदी, कुलेखानी, फर्पिङको बाटोलाई वैकल्पिक बाटोको रूपमा पनि प्रयोग गर्न सकिने डिएसपी जैसवालले जानकारी दिए ।