
तीन विदेशी खेलाडीले गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।बिहीबार दशरथ रंगशालामा पुलिसले खुमलटार युवा क्लबविरुद्ध ३–१ को जित निकाल्यो । पुलिसको जितमा विदेशी खेलाडी अहमाद हिजाजीले दुई तथा मोसेजले एक गोल गरे ।
खुमलटारका लागि मेसुके ओलोमोउले एक गोल फर्र्काए । पछिल्लो खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराएको थियो । जितपछि पनि पुलिस रेलिगेसन क्षेत्रमा छ । यद्यपि, अग्रता भने छोट्याएको छ । तेस्रो जित निकालेको पुलिसले १३ खेलबाट १२ अंक जोडेको छ ।
पुलिस अझै पनि अंक तालिकाको पुछारमा छ । आठौँ हार बेहोरेको खुमलटार समान खेलबाट १३ अंकका साथ १२औँ स्थानमा झरेको छ । जारी लिगमा १३औँ चरण सुरु हुँदा पुछारका सात टोलीबीच मात्र तीन अंकको अग्रता छ । नेपाल पुलिस क्लबका प्रशिक्षक चेतकुमार घिमिरे खुसी देखिए । उनले विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘लगातारको जितले खुसी छु । विदेशी खेलाडीको प्रदर्शन राम्रो हुँदै गएको छ,’ उनले भने, ‘हामी बिस्तारै लयमा फर्कंदै छौँ ।’
हिजाजीको दुई गोल
खुमलटारविरुद्ध पुलिसले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा थप तीन गोल भए । खेलको २७औँ मिनेटमा लेबनानका अट्याकर हिजाजीले पुलिसलाई अग्रता दिलाए । लिगमा उनको डेब्यु गोल हो । खुमलटारका गोलरक्षक देव लिम्बूले क्लियर गर्न नसकेको बललाई हिजाजीले फिनिसिङ गरेका थिए । १३औँ चरणमा पुलिसले पाँचौँ विदेशी खेलाडीलाई मैदानमा उतारेको हो ।
एपिएफ र फ्रेन्ड्सले अंक बाँडे
अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । १३ खेलमा १८ अंक जोडेको एपिएफ छैटौँ स्थानमा छ । फ्रेन्ड्स समान खेलबाट १५ अंकका साथ १०औँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २७औँ मिनेटमा प्रदीप लामाले एपिएफलाई अग्रता दिलाए । ५२औँ मिनेटमा विदेशी खेलाडी राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सको हार टारे ।