मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 28 August, 2026
२o८o बैशाख १४ बिहीबार १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मैथिली भाषामा पाठ्यपुस्तक निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १८:३o:oo

सप्तरीको बोदेबरसाइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथिली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ। नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ।

पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतिको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ। 

एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ। कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रूपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताए। 

उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जानेछ।

'पाठ्यपुस्तक निर्माणका लागि भाषाविज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रमविद् तथा जनप्रतिनिधिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिनेछ,' यादवले भने। 

तयार पारिएका पाठ्यक्रममा मैथिली भाषाको आफ्नैै तिरुहुत लिपि समेटिएको छ। पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा पर्याप्त मात्रामा मैथिली शब्दार्थ प्रयोग गरिएको छ। 

स्थानीय आवश्यकताअनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन्।

नेपालको संविधानको मौलिक हकअनुसार मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ। सोहीअनुरूप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार आधारभूत तहका विद्यालयमा मातृभाषामा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने नगरपालिकाकाे शिक्षा शाखाले जनाएको छ। रासस