मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख १३ बुधबार ०६:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तनहुँमा ढल्यो कांग्रेसको विरासत, रास्वपाका स्वर्णिम अनुमोदित

Read Time : > 1 मिनेट
२०८० बैशाख १३ बुधबार ०६:४१:००

कांग्रेसको गढ मानिएको तनहुँ १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले सानदार जित निकालेका छन् । वाग्ले एक महिनाअघि मात्रै कांग्रेसबाट विद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका थिए । तनहुँ १ मा कुल ६५ हजार तीन सय १६ मत खस्दा ६४ हजार एक सय ३५ मत सदर भएको छ । जसमा वाग्ले १४ हजार सात सय ९७ को फराकिलो मतान्तरसहित विजयी भएका छन् । वाग्लेले ३४ हजार नौ सय १९ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत मात्र पाए । एमालेका सर्वेन्द्र खनाल आठ हजार चार सय ८८ मतसहित तेस्रोमा झरे । 

कांग्रेस छाडेर रास्वपामा लागेका वाग्ले आफ्नो दलको बलमा चुनाव लडेका थिए भने भट्टराईलाई सत्तागठबन्धनको साथ थियो । वाग्लले अब यो क्षेत्रको विकासमा हातेमालो गर्दै सँगसँगै हिँड्ने बताए । उनले सबैसँग मिलेर राष्ट्रिय मुद्दामा सँगसँगै उभिने बताए ।

४ मंसिरमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजार तीन सय ६१ मतसहित विजयी भएका थिए । एमालेका एकबहादुर रानाले १९ हजार नौ सय ८१ मत ल्याएका थिए । ४ मंसिरसको निर्वाचनसँग तुलना गर्दा गर्दा कांग्रेसले पाँच हजार दुई सय ३९ मत गुमाएको छ भने एमालेले ११ हजार चार सय ९३ मत गुमाएको छ । 

तनहुँ १ मा ०७४ बाहेक कांग्रेसले निरन्तर जित्दै आएको क्षेत्र हो । ०७४ एमाले र माओवादीले गठबन्धन गर्दा किसानकुमार श्रेष्ठसँग पौडेल पराजित भएका थिए । त्यसबाहेक पौडेल ६ पटक विजयी भए । तर, उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै खाली रहेको क्षेत्रमा उपनिर्वाचन हुँदा कांग्रेसले गुमाएको छ भने एमालेको जनमत पनि हलचल भएको छ ।

चुनावी कमान्डरकै वडामा कांग्रेस पराजित
तनहुँमा गठबन्धनका चुनावी कमान्डर शंकर भण्डारीकै वडामा कांग्रेस र एमालेको चुनाबी कमान्डर बनेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेकै वडामा एमाले हारेको छ । भण्डारीको गृह वडा भानु नगरपालिका– ९ मा रास्वपाले आठ सय १४ मत प्राप्त गर्दा कांग्रेसले चार सय ५६ मत मात्र पायो । त्यस्तै, न्यौपानेको भानु– ८ मा एमालेले चार सय ३७ मत ल्याउँदा वाग्लेले आठ सय ५६ मत प्राप्त गरे । यहाँ भट्टराईले चार सय ५८ मत मात्र पाए । माओवादी नेता एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानको वडा आबुखैरेनी गाउँपालिका– २ मा एक हजार तीन सय ९२ मत खस्दा भट्टराईले २३६ मत मात्र पाए । जब कि वाग्लेको पक्षमा ८८१ मत खस्यो । यहाँ एमालेले एक सय आठ मत मात्र पाएको छ । 

नौमध्ये ६ उम्मेदवारको जमानत जफत
तनहुँ १ मा उपनिर्वाचनमा उम्मेदवार रहेका नौमध्ये ६ जनाको जमानत जफत भएको छ । यहाँ रास्वपाले जित्दा कांग्रेस र एमालेले जमानत जोगाएका छन् । राप्रपाका शोभा गुरुङले दुई सय १८, नेसनल मंगोेल अर्गनाइजेसनका प्रेमबहादुर थापाले एक सय ६६, नागरिक उन्मुक्तिका भीमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच मत पाएर जमानत जोगाउन सकेनन् ।