१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोदावरी नगरपालिकाले उद्यमीलाई १० लाखसम्म निर्ब्याजी ऋण दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२१:oo

ललितपुरको गोदावरी नगरपालिकाले युवा तथा महिला उद्यमीलाई विनाब्याज १० लाख रुपैयाँसम्मको ऋण दिने भएको छ । युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचदेखि १० लाखसम्म निर्ब्याजी ऋण दिन लागेको हो । 

ऋण प्राप्तिका लागि २१ वैशाखभित्र नगरपालिकाले तोकेको ढाँचामा फाराम भरी कार्यालयमा बुझाउन नगरपालिकाले आग्रह गरेको छ । यो योजना आगामी जेठ महिनादेखि लागू हुनेछ । नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार उक्त ऋण एक वर्षदेखि कृषि उद्यममा लागेका स्थानीयलाई दिइनेछ । ‘नगरपालिकाभित्रै केही गर्न चाहने युवा तथा महिला उद्यमीका लागि यो कार्यक्रम ल्याएका हौँ । जसले स्थानीय युवा तथा उद्यमीलाई नगरपालिकाभित्रै बसेर काम गर्ने प्रेरणा मिल्नेछ,’ प्रमुख महर्जनले भने, ‘यो कार्यक्रम अर्को महिनादेखि नै लागू हुन्छ ।’

, पशुपक्षी र महिला लघु उद्यमीहरूलाई ऋणको ब्याज अनुदान कार्यविधि ०७९ कार्यपालिकाबाटै पास गरेर नगरपालिकाले यो योजना सुरु गर्न लागेको हो । ऋण प्राप्तिका लागि नगरपालिकाले मापदण्डसमेत तोकेको छ । यो ऋण पाउने उद्यमी तथा व्यवसायी नगरपालिकाको स्थानीय हुनुपर्नेछ । कार्यक्रममा सहभागी हुने व्यक्ति ६० वर्ष ननाघेको हुनुपर्नेछ । कार्यविधिमा तोकिएको क्षेत्रमा मात्र ऋण लगानी गरिनेछ । सहभागी हुने व्यक्तिले नगरपालिका वा वडा कार्यालयमा फाराम दर्ता गरी सञ्चालन गरेको हुनुपर्नेछ । अनुमति लिनुपर्ने व्यवसायले पूर्वस्वीकृति लिइसकेको हुनुपर्नेछ । सम्बन्धित व्यवसायमा न्यूनतम पूर्वाधारहरू भइसकेको हुनुपर्नेछ भने वडा कार्यालयको सिफारिस अनिवार्य समावेश गरिएको हुनुपर्नेछ । 

ऋण तीन वर्षमा फिर्ता गर्नुपर्ने 
नगरपालिकाका अनुसार ऋण तीन वर्षभित्र फिर्ता गर्नुपर्नेछ । उद्यमीले लिएको पाँचदेखि १० लाख ऋणको ब्याज नगरपालिकाले तिरिदिनेछ । उद्यमीलाई ऋण दिनका लागि नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमै एक करोड व्यवस्था गरेको थियो । यो रकम आगामी वर्षमा बढ्दै जाने नगरपालिकाले जनाएको छ । अर्को वर्ष ऋण पाउन यही वर्षदेखि नै तयारी गर्दै गर्न नगरपालिकाले आग्रहसमेत गरेको छ । ‘हामीसँग यो कार्यक्रमका लागि अहिले नै एक करोड छ । आगामी वर्षहरूमा यो रकम बढाउँदै लैजान्छौँ,’ प्रमुख महर्जनले भने, ‘यो कार्यक्रममा धेरैभन्दा धेरै स्थानीयलाई सहभागी गराउन आगामी वर्षहरूमा रकम बढाउँदै लैजान्छौँ ।’ नगरपालिकाले ऋण स्वीकृत गरेपछि एनआइसी एसिया बैंकले ऋण दिनेछ भने ऋणबापतको ब्याज नगरपालिकाले तिरिदिनेछ ।

ad
ad