मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ८ शुक्रबार ०८:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे दुई करोडको कोकिनसहित केन्याली महिला पक्राउ, १० वर्षमा झन्डै डेढ अर्बको कोकिन बरामद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ८ शुक्रबार ०८:३१:००

प्रहरीले दश वर्षयता कोकिन कारोबारमा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक मात्रै नेपाली नागरिक, बाँकी विदेशी छन् । 

अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न एक केन्याली महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ६३ वर्षीया पिलिसिला वान्जा डिरुतु हुन् । उनको साथबाट प्रहरी झन्डै साढे दुई करोड मूल्यबराबरको कोकिन बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई ठमेलस्थित होटेलबाट पक्राउ गरेको हो । उनले एक किलो ८० ग्राम परिमाणको कोकिन इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएकी थिइन् । 

ब्युरोका अनुसार लेडिज ब्यागभित्र ‘फल्स बटम’ बनाई ल्याइएको कोकिन भारतको नयाँदिल्ली लैजाने तयारी थियो । कोकिन लिन दिल्लीबाट भारत उत्तर प्रदेश अलिगढका ५१ वर्षीय रवीन्द्रकुमार परासर काठमाडौं आएका थिए । उनले कोकिन रवीन्द्रकुमारलाई बुझाइसकेकी थिइन् । यही क्रममा प्रहरीले रवीन्द्रकुमारलाई पनि पक्राउ गरेको थियो । ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले साढे दुई करोड मूल्यबराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेको जानकारी दिए । ‘अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । जसमा एक केन्याली महिला र अर्का भारतीय नागरिक छन् । उनीहरू बरामद कोकिन भारत लैजाने तयारीमा थिए,’ उनले भने । ब्युरोका अनुसार केन्याली नागरिक पिलिसिलाको केन्यामा नाति–नातिनासमेत छन् । उनी डिभोर्सी महिला हुन् । उनलाई ‘र्‍याकेट’का सदस्यले एयरफेयर टिकटसहित तीन हजार अमेरिकी डलर (तीन लाख ३० हजार रुपैयाँ) दिने प्रलोभन दिएका थिए । सोही प्रलोभनमा परी उनी ‘र्‍याकेट’को सदस्य बनेको प्रहरीको भनाइ छ । ‘केन्याली नागरिक वृद्धा महिला हुन् । उनको नाति–नातिनासम्म रहेको देखिन्छ । ‘र्‍याकेट’का सदस्यले तीन हजार अमेरिकी डलर दिने भनेपछि उनी कारोबारमा संलग्न हुन राजी भएजस्तो देखिन्छ । 

घटनामा थप अनुसन्धान भइरहेको छ,’ ब्युरो प्रवक्ता एसपी जोशीले भने । उनीसँगै पक्राउ परेका भारतीय नागरिक रवीन्द्रकुमारलाई भने ‘र्‍याकेट’का सदस्यले २० हजार भारु दिने भनेका थिए । ड्राइभिङ पेसामा आबद्ध उनी प्रलोभनमा परी कोकिन लिन काठमाडौं आएका थिए । 

प्रहरीले दश वर्षयता कोकिन कारोबारमा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक मात्रै नेपाली नागरिक छन्, बाँकी विदेशी छन् । यस अवधिमा बरामद कोकिनको परिमाण ६३.७६३ किलो रहेको छ । जसको अवैध बजार मूल्य एक अर्ब ३७ करोड ७२ लाख ८० हजार पर्छ । ‘१० वर्षको अवधिमा ६३.७६३ किलो कोकिन बरामद भएको छ । यसको अवैध बजार मूल्य झन्डै साढे एक अर्ब हुन आउँछ । कारोबारमा संलग्न ३५ अभियुक्त पक्राउ परेका छन् । उनीहरूमध्ये एक मात्रै नेपाली छन्,’ ब्युरो प्रवक्ता एसपी जोशीले भने ।