मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०८० बैशाख ५ मंगलबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा नुवाकोटमा ६ जना पक्राउ

Read Time : < 1 मिनेट
२०८० बैशाख ५ मंगलबार १९:१२:००

नुवाकोटमा बलात्कारका दुई घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सामूहिक बलात्कार घटनाका संलग्न पाँचजना र अर्को एक बलात्कार घटनामा संलग्न एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

किस्पाङ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको र सोही घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। गत आइतबार अपराह्न किस्पाङ–५ सुकुटे खोलास्थित गोठमा बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडाका १९ वर्षीय निर्मल तामाङ, सोही वडाका २० वर्षीय अमृत तामाङ र १७ वर्षका तीनजनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए।

आरोपितमध्ये निर्मल र तीन बालकलाई सोमबार र अमृतलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपितमध्ये निर्मलले सुकुटेपुलमा बालिकालाई भेट्न बोलाएको र उसका अन्य चारजना साथीसहित पाँचजनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ।

यस्तै, अर्का एक महिलालाई बलात्कार गरेको आरोपमा रसुवाका एक युवालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा गोसाईंकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

रसुवाकी २६ वर्षीया महिलालाई आरोपितले विदुर नगरपालिका– १ ढुंगेस्थित एक होटेलमा गत चैत ३० गते बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएपछि आरोपित तामाङलाई विदुर–१० बेत्रावतीबाट पक्राउ गरी घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताए।

आरोपितले पीडित महिलाका बालबच्चालाई विदेशका विभिन्न विद्यालयमा छात्रवृत्तिमा पढाउन पठाएर सहयोग गर्ने प्रलोभन देखाएर बोलाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।