भाडाको टायरमा फर्कियो निगमको वाइडबडी जहाज

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

दुईवटा टायर पन्चर भएर बिहीबारदेखि नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी एयरबस ३३० जहाज काठमाडौं फर्किएको छ । कतार एयरवेजसँग टायर भाडामा लिएर शुक्रबार साँझ जहाज काठमाडौं फर्किएको हो । 

कतार एयरसँग भाडामा लिइएका टायर निगमले शनिबार आफ्नो काठमाडौं–दिल्ली उडानमा दिल्लीमै फिर्ता गर्नेछ । कतार एयरवेजले आफ्नो जहाजका लागि जगेडा राखेको टायर भाडा तिर्ने सर्तमा निगमलाई उपलब्ध गराएको हो । बिहीबार निगमको जहाजको टायर पन्चर भएपछि काठमाडौं आउन ठिक्क परेका दुई सय ५१ यात्रु अलपत्र परेका थिए । उनीहरूलाई निमगकै खर्चमा दिल्लीको होटेलमा लगेर राखिएको थियो । कतिपय नजिकै घर भएका यात्रुलाई ट्याक्सी खर्च दिएर आफ्नै घर पठाइएको निगमले जनाएको छ । 

निगमका जहाज इन्जिन बिग्रिएर, टायर पन्चर भएर वा अन्य कुनै प्राविधिक समस्या आएर महिनौँ ग्राउन्डेड हुनु कुनै नौलो विषय होइन । निगमले आफूले उडान गर्ने स्टेसनमा जगेडा टायर राख्न नसक्दा टायरकै कारण पनि पटक–पटक जहाज ग्राउन्डेड गर्नुपर्ने नियतिबाट गुज्रँदै आएको छ । भइपरि आउने समस्यालाई ध्यानमा राखेर टायरलगायत विभिन्न पार्टपुर्जा जगेडा राख्नुपर्ने हुन्छ । तर, निगमको व्यवस्थापनकै कमजोरीका कारण जहाजमा सामान्य खराबी आउँदा पनि ग्राउन्डेड गर्नुपर्ने अवस्था आइरहन्छ ।

See More On

सुझावित समाचार