१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १८ शनिबार ०६:१२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निजी अस्पताल सञ्चालक दमकका मेयर सरकारी अस्पतालका पनि अध्यक्ष

Read Time : > 2 मिनेट
२०७९ चैत १८ शनिबार ०६:१२:००

दमक अस्पतालमा मासिक १५० लाई मात्र प्रसूति गराउने क्षमता छ, अस्पताल आएका आधाभन्दा बढीलाई प्रसूति गराउन दमक नगरपालिका मेयर रामकुमार थापाकै निजी ॐ मेची हस्पिटलमा पठाइन्छ

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकालाई जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको क्लिनिक नियमन अधिकार छ ।

दमक नगरपालिकाको स्वास्थ्य नियमावली, २०७७ ले नगरभित्र रहेका स्वास्थ्य संस्था (अस्पताल, नर्सिङ होम, क्लिनिक, प्रयोगशाला सेवा, औषधि पसल)समेतको गुणस्तरको अनुगमनको अधिकार पालिकालाई दिएको छ । तर, दमककै मेयर रामकुमार थापा भने जनप्रतिनिधि मात्र होइन, आफ्नै पालिकाभित्र (वडा नम्बर ७ मा) रहेको २५ बेडको ॐ मेची हस्पिटलका सञ्चालक हुन् । उनी दमक नगरपालिकाकै स्वामित्वमा रहेको १५ बेडको दमक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

नेपालमा स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी छुट्टै कानुन त छैन । यद्यपि, सुशासन व्यवस्थापन ऐन, २०६३ को दफा १८ ले ‘... निजको एकासगोलको व्यक्तिले सञ्चालन गरेको व्यापार, व्यवसायमा प्रत्यक्ष फाइदा पुग्ने गरी स्वार्थ बाझिने भएमा त्यस्तो पदाधिकारीले त्यस्तो विषयमा निर्णय गर्न सक्ने छैन’ भनिएको छ । 

सरकारी अस्पतालका अध्यक्षसमेत रहेका जनप्रतिनिधि नै आफ्नै पालिकाभित्र रहेको निजी अस्पतालको सञ्चालक हुँदा पक्कै पनि स्वार्थको द्वन्द्व निम्तिन्छ । किनकि पालिकाभित्र रहेको अस्पतालको अनुगमनको अधिकार नगरपालिकाले राख्छ भने सरकारी अस्पताल सञ्चालक समिति अध्यक्ष नै निजी अस्पताल सञ्चालक हुँदा निजी अस्पतालको व्यापार प्रवर्द्धनमा अप्रत्यक्ष भूमिका पनि खेल्न सक्छन् ।

नेपालको संसदीय मामिलामा स्वार्थको द्वन्द्वको विषयमा अनुसन्धान गरेका किरण चापागाईं पनि सार्वजनिक पदमा भएका व्यक्ति त्योबाहेक अर्को सार्वजनिक पदमा बस्दा सम्भावित स्वार्थको द्वन्द्व रहने बताउँछन् । ‘मेयर भएर अस्पताल व्यवस्थापन समितिमा रहनु भनेको त नीति–निर्माणमा रहनु हो । त्यहीसँग प्रतिस्पर्धी निजी अस्पतालको लगानीकर्ता पनि  हुनुले कुनै न कुनै स्वार्थ जोडिन्छ,’ उनले भने, ‘प्रतिस्पर्धी (निजी) अस्पतालमा लगानी नभएको भए एउटा जनप्रतिनिधि अस्पताल (सरकारी)लाई राम्रो बनाउँछु भनेर गएको भन्ने हुन्थ्यो । तर, आफ्नै नगरभित्र रहेको निजी अस्पतालमा पनि लगानी भएको व्यक्ति सरकारी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्नु सम्भावित स्वार्थ हो ।’

मेयर थापा ओम इन्टरनेसनल मेची हस्पिटल एन्ड रिसर्च प्रा.लि. सञ्चालक समितिमा रहेको अर्का सञ्चालक डा. शंकरप्रसाद हुजदारले पनि पुष्टि गरे । ‘मेयरसाप हाम्रो अस्पतालको सञ्चालक समितिमा हुनुहुन्छ । उहाँसहित हामी ६ जना अस्पताल सञ्चालक छौँ,’ उनले भने । ओम मेची अस्पताल प्रशासनका अनुसार त्यहाँ (थापा)को १० प्रतिशत लगानी छ । डा. निरञ्जनसिंह बोगटी ओम मेचीका अध्यक्ष  हुन् ।

थापा निजी अस्पतालका सञ्चालक मात्र होइन, आम्दा नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको गैरनाफामूलक अस्पताल आम्दा अस्पताल दमकका अध्यक्षसमेत हुन् । आम्दा नेपाल नामक एनजिओको विधानअनुसार स्थानीय व्यवस्थापनमा समितिमा नगरप्रमुख अध्यक्ष हुने व्यवस्था छ । 

नगरले सञ्चालन गरेको अस्पतालका बिरामी ओम मेचीमा
ओम मेची अस्पतालले प्रसूति सेवा मात्र दिन्छ । तर, दमक नगरपालिकाले चलाएको दमक अस्पतालले दिने प्रसूति सेवा सुस्त छ । जनशक्ति अभाव हुँदा धेरै गर्भवतीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको दमक अस्पतालकी सूचना अधिकारी देवी  दंगालले बताइन् ।

उनका अनुसार मासिक एक सय ५० गर्भवतीलाई मात्र सेवा दिन सकिएको छ । तर, त्यसको दोब्बर गर्भवती रिफर गर्नुपर्ने अवस्था छ । ‘स्वास्थ्य बिमा र पैसा नभएकालाई आम्दा अस्पतालको आमा सुरक्षा कार्यक्रममा पठाउँछौँ । अन्यलाई ओम मेची पठाउने गरेका छौँ,’ अस्पताल स्रोत भन्छ ।

मेयर अध्यक्ष रहेको दमक अस्पतालले भने सुविधायुक्त सेवा दिन सकेको छैन । झन्डै एक वर्षसम्म राजनीतिक द्वन्द्वले व्यवस्थापन समिति बनेको थिएन । अस्पतालमा एनेस्थेसियोलोजिस्ट चिकित्सक छैनन्, जसकारण शल्यक्रिया सेवासमेत सञ्चालन गर्न निकै मुस्किल परेको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन् । ‘सबैभन्दा समस्या एनेस्थेसियोलोजिस्ट डाक्टरको छ । अहिले मंगलबारे अस्पतालको डाक्टरसाबलाई बिहान–बेलुका बोलाएर गर्न लगाइरहेका छौँ,’ उनले भनिन्, ‘दैनिक दुई–तीनवटा शल्यक्रिया पनि बल्लतल्ल हुन्छ ।

दमक अस्पताल ०७३ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट १५ शय्याको अस्पतालमा विकास भएको हो । सुरुमा नेपाल सरकारले स्थापना गरेको यो अस्पताल हाल स्थानीय तह दमक नगरपालिकाले सञ्चालन गर्दै आएको छ । दमकमा योबाहेक कुनै पनि सरकारी अस्पताल छैन । तर, मेयर थापाले निजी अस्पतालको लगानी र सरकारी अस्पतालको व्यवस्थापन फरक विषय भएको तर्क गरे ।

यसरी अस्पतालको अध्यक्ष बनेका थिए थापा
दमक स्वास्थ्य तथा सरसफाइ ऐनअनुसार समितिको नाम स्वास्थ्य संस्था व्यवस्थापन समिति छ । वार्षिक झन्डै २४ करोडबराबर बजेट चलाउने दमक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नगरप्रमुख थापा आफैँ बनेका हुन् । अस्पताल व्यवस्थापन समिति अध्यक्ष बन्न उनले नगर कार्यपालिकामा झन्डै एक वर्ष रस्साकस्सी गर्नुपर्‍यो । दुईतिहाइ जनप्रतिनिधि भएको एमालेसँग जुध्नपर्‍यो । जसकारण ११ महिनासम्म अन्य महत्वपूर्ण समिति बन्न सकेनन् । थापाले कार्यपालिकामा प्रस्ताव नलैजाँदा अस्पताल विकास समितिसँगै अन्य विभिन्न महत्वपूर्ण समिति नै गठन हुन सकेन । जब थापा अस्पताल व्यवस्थापन समिति अध्यक्ष बन्ने पक्का भयो, तब उनले कार्यपालिकामा समितिहरू गठनको प्रस्ताव लगे । 

स्थानीय तहको निर्वाचनमा कांग्रेससँगै गठबन्धन गरेर जितेका थापाले उसलाई चिढ्याउँदै महत्वपूर्ण समितिको जिम्मेवारी एमालेका जनप्रतिनिधिलाई दिँदै थापा अस्पतालको अध्यक्ष बने । महत्वपूर्ण समितिको जिम्मेवारी एमालेलाई दिएपछि कांग्रेसले कार्यपालिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै उपमेयर रेगिना भट्टराईसहित दुई वडाध्यक्षलाई समिति गठन गर्ने क्रममा दिएको जिम्मेवारी नै अस्वीकार गरे । विगतमा दमक अस्पताल व्यवस्थापन समिति अध्यक्षको जिम्मा तत्कालीन उपमेयर गीता अधिकारीलाई बनाइएको थियो ।