
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन्।
बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रबल सम्भावना रहेको दाबी गरे।
उनले मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तागठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गरे।
अध्यक्ष राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन आग्रह गर्दै उनले ठूला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने तर्क गरे।
राउतले भने, ‘वैकल्पिक सबै राजनीतिक पार्टीहरूले के बुझ्नुपर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरू यसरी नै विभाजित भइरहने हो भने माथिका ठूलो दलहरूले के गरिरहेका छन्। हामी जति पनि वैकल्पिक नयाँ राजनीतिक शक्तिहरू छौँ । तिनीहरू मिलेर अब शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साढे ३ सय झिनो मतले पराजित हुनुभएको थियो । उहाँले जित्ने प्रबल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काट्ने काम नगरौँ । यसरी हामी आफैँ लड्दै गयौँ भने त ती पुराना शक्तिहरूले नै जित्छन् । अत्याचार गरिराख्छन् । त्यही भएर मेरो अनुरोध छ– वैकल्पिक शक्तिहरू, नयाँ शक्तिहरू जति पनि छन् उहाँहरुरूले जनमत पार्टीका साझा उम्मेदवारलाई नै समर्थन गर्नुहोस् । त्यहाँ या त जनमत पार्टी वा जनता समाजवादी पार्टीको चर्चा छ । त्यहाँ जसपाले षड्यन्त्र रचेको हो । जनमत त्यो षड्यन्त्र तोड्नका लागि हो।’