६७ दिनमा मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रोपटक विश्वासको मत

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण
६७ दिनमा मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रोपटक विश्वासको मत

फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पहिलोपटक विश्वासको मत लिएको ६७ दिनमा दोस्रोपटक पुनः विश्वासको मत पाएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा प्रस्तुत भएको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ सांसदले मतदान गरेका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा शुक्रबारको बैठकमा उपस्थित ९१ सांसदमध्ये ६७ जनाले मतदान गरे । यसैगरी प्रस्तावको विपक्षमा १७ जनाले मतदान गरे भने सात सांसद तटस्थ बसेका थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये चार दलका सांसदले विश्वासको मत दिएका छन् । उनलाई विश्वासको मत दिनेमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली दलका सांसद रहेका छन् ।

यसअघि सरकारमा रहेको एमाले, राप्रपा र प्रतिपक्षमा रहेको नेमकिपाले भने मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएनन् । यसअघि माघ ३ गते पहिलोपटक प्रदेश सभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका एक सय पाँच सांसदले विश्वासको मत दिएका थिए ।

एक सय १० सांसद रहेको प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । विश्वासको मत पाएसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
 

सुझावित समाचार