
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ को न्यूनेडाँडामा राखिएको नेपाल टेलिकमको नमस्ते सेवाको टावर अझै सञ्चालनमा आउन सकेको छैन ।
टावरका लागि आवश्यक सोलार ब्याट्री जडान गरेको दुई साता बितिसक्दा पनि टावर सञ्चालनमा ल्याइएको छैन । नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीले ब्याट्री जोडेको एक साताभित्रै टावर सञ्चालनमा ल्याउने बताए
पनि सेवा सुचार नभएको त्रिपुराकोटका स्थानीय तुलबहादुर बोहोराले बताए ।
‘नगरपालिकाका धेरैजसो गाउँबस्ती सञ्चारविहीन भएको वर्षाैँ भयो । ब्याट्री जडान भएकाले अब छिट्टै सेवा सुचारु होल्ला भन्ने आशा थियो । तर, दुई साता बितिसक्दा पनि सेवा सञ्चालनमा आउने कुनै सुरसार छैन,’ उनले भने । जतिसक्दो छिटो टावर सञ्चालन गर्न स्थानीय सेवाग्राहीले माग गरेका छन् ।
तर, अझै दुई महिना टावर सञ्चालनमा नआउने टेलिकमले जनाएको छ । टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका उपनिर्देशक राजन शर्माले टावर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने बताए । नेपाल टेलिकमसँग बिटिएस, एन्टेनालगायत अत्यावश्यक उपकरण सकिएकाले चीनबाट मगाइएको छ । कलकत्ता पनि नपुगेकाले उपकरण नेपाल आइपुग्न मात्र २० दिनभन्दा धेरै लाग्ने उनले बताए ।
डोल्पा पुर्याएर जडान गर्न कम्तीमा दुई महिना लाग्ने उनको भनाइ छ । अहिले नगरपालिकाको प्रशासकीय केन्द्रमा नै टेलिफोन लाग्दैन । टेलिफोन नलाग्दा नागरिकको सेवा प्रवाह तथा अत्यावश्यक कामका लागि फोन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।