
सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध भएको छ ।
शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरू बिक्रीमा रहेकाे अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति आइतबारको संसद् बैठकमा सांसदहरूले विरोध जनाएका हुन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । सो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै उनले त्यसतर्फ सभामुखको ध्यानाकर्षण गराए ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखसँग छानबिन समिति बनाउन माग गरे ।