मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार ०७:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फागुनमा १४ हजारले लगे एनओसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार ०७:३०:००

अघिल्ला महिनाको तुलनामा फागुनमा विदेश अध्ययनका लागि विद्यार्थीले शिक्षा मन्त्रालयबाट झन्डै दोब्बर संख्यामा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार फागुनमा मात्रै १३ हजार नौ सय ४५ एनओसी जारी भएका छन् । 

अन्य महिनाको तुलनामा फागुनमा एनओसी शाखामा सेवा लिन आउनेको निकै भिड लागेको थियो । विदेश अध्ययनमा खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ । चालू आर्थिक वर्षको सात महिनामा विदेश अध्ययनका लागि ५९ हजार आठ सय ५७ विद्यार्थीले एनओसी लगेका छन् ।

फागुनमा जारी भएका कुल एनओसीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वासुदेव वस्तीका अनुसार जापानमा अध्ययनका लागि आठ हजार ९१ एनओसी जारी भएका छन् । गत माघमा सात हजार ६ सय १८ एनओसी जारी भएका थिए । पुसमा कुल सात हजार आठ सय ५१ विद्यार्थीले एनओसी लगेका छन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखा प्रमुख वस्तीका अनुसार फागुनभरि जापानका लागि एनओसी लिनेको भिड थियो । जापानमा कलेज भर्नाको समय भएकाले सबैभन्दा बढी भिड रहेको उनले बताए । फागुनमा दोस्रो आकर्षक गन्तव्य बनेको अस्ट्रेलियामा दुई हजार ६ सय १० जनाले एनओसी लगेका छन् । क्यानडाका लागि एक हजार ६ सय ६०, बेलायतका लागि ५५९, भारत २३४, युएई १६९, दक्षिण कोरियाका लागि १२५ एनओसी लगेका छन् ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा अस्ट्रेलियाका १७ हजार सात सय १३ विद्यार्थीले एनओसी लगेका छन् । चालू आर्थिक वर्षमा अघिल्लो महिनासम्म तेस्रो स्थानमा रहेको जापान एनओसी लिने देशका आधारमा दोस्रोमा छ । जापानका लागि सात महिनामा १४ हजार सात सय ६० एनओसी शिक्षा मन्त्रालयले जारी गरेको छ । क्यानडा आकर्षक गन्तव्यका रूपमा पाइएको छ ।

अघिल्लोपटक दोस्रो स्थानमा रहेको क्यानडाका लागि नौ हजार सात सय ९५ एनओसीसँगै तेस्रो स्थानमा छ । बेलायतका लागि अहिलेसम्म दुई हजार तीन सय ४७ विद्यार्थीले एनओसी लगेका छन् । अमेरिकाका लागि एक हजार नौ सय आठ र भारतका लागि एक हजार तीन सय ७८ एनओसी लगेको तथ्यांक छ ।

युएईका लागि एक हजार दुई सय ३७ एनओसी जारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ मा विद्यार्थीहरूले शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ एनओसी लगेका थिए । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको छ ।