१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २५ मंगलबार १४:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामा पढ्न वडाको सिफारिसमै बालबालिकालाई लगिन्छ भारत

स्थानीय प्रशासन बेखबर

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:५o:oo

जुगल गाउँपालिकास्थित स्थानीय बालबालिकालाई लामा पढ्न बर्सेनि छिमेकी देश भारत लैजाने गरेको पाइएको छ । वडाको सिफारिसमा बालबालिका देशबाहिर गइरहँदा स्थानीय प्रशासन भने बेखबर छ ।

बालबालिकालाई भारतको बेंग्लोर र धर्मशालास्थित गुम्बामा लगिन्छ । बुद्ध धर्मसम्बन्धी ज्ञान आर्जन गर्ने भन्दै अधिकांश बालबालिकालाई बेंग्लोरको गोपो खजेनमा रहेको डेपुङ गुम्बामा लाने गरिएको छ । यस वर्ष मात्रै भारत पढ्न गएका २३ बालबालिकामध्ये एकजना काठमाडौंको स्वयम्भूबाट हराएपछि यो कुरा बाहिरिएको हो । जुगल– ३ का १२ वर्षीय भीम तामाङ दुई महिनाअघि स्वयम्भूबाट एकाएक हराए । उनका बाबु केशर र आमा सुकुमाया तामाङ बच्चा खोज्दै बौद्ध कपन पुगे । महिना दिनसम्म खोजी गरेपछि उनलाई ललितपुरको गोदावरीमा भेटियो ।

जुगल २, ३ र ४ वडाका लेकाली बस्तीबाट पाँचदेखि १५ वर्ष उमेरका कलिला बालबालिकालाई लामा पढाउन भारत लगिन्छ । बालबालिका यसरी देश छोडेर भारत जाने गरेको धेरै वर्ष बित्यो । तर, स्थानीय प्रशासन बेखबर छ । भर्खरै जिल्ला आएका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बालबालिका भारत पढ्न जानेबारे जानकारी नभएको बताए । ‘म भर्खरै जिल्ला आएकाले धेरै कुरा बुझ्न बाँकी नै छ । लामा पढ्न भारत जाने बालबालिकाबारे छिटो बुझेर छानबिन गर्छु,’ उनले भने ।

बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालनपोषण गरिदिने भनेर सामाजिक, धार्मिक वा अन्य प्रकारका संघसंस्थाको नाममा बालबालिका लिने, विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौनशोषण गर्नेजस्ता गैरकानुनी क्रियाकलापमा सहभागी गराएको गुनासो आएपछि गृह मन्त्रालयले १३ माघ ०७८ मा विज्ञप्ति जारी गरेर आफ्नो आमाबुबाबाहेक अन्य व्यक्ति वा संस्थामार्फत देशभित्र एक ठाउँबाट अर्को ठाउँ लैजान स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने र पठनपाठनका लागि देशबाहिर जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र वा एनओसी पत्र नहुनेको हकमा स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय प्रशासनलाई थाहै नदिई जुगल गाउँपालिका– ३ का वडाध्यक्ष लक्ष्मण लामा दोङले यही वर्ष मात्रै २३ बालबालिकालाई लामा पढ्न भारत जाने सिफारिस दिएका छन् । उनले २५ मंसिर र १ पुसको मितिमा तीनवटा सिफारिस लेखेर २३ बालबालिकालाई भारत पठाउन अनुमति दिएका छन् । यस्तो सिफारिस दोङले मात्रै दिएका होइनन् । अघिल्ला वर्षमा वडा नम्बर २ का पूर्ववडाध्यक्ष प्रताप लामा र वडा नम्बर ४ का वडाध्यक्ष प्रेम तामाङले पनि वडाबाटै सिफारिस दिएर बालबालिकालाई भारत पठाउने गरेका थिए । जुगलबाट गएको १० वर्षदेखि बर्सेनि २० भन्दा बढी बालबालिका लामा पढ्न भारत जाने गरेको पाइएको छ ।

लेकाली गाउँका विपन्न र टुहुरा बालबालिका अभिभावकसहित वडामा आउने गरेकाले भारत जान सिफारिस दिएको वडाध्यक्ष दोङले बताए । ‘पहिलादेखि नै वडाको सिफारिसमा बालबालिका भारत जान्छन् । मैले पनि उसैगरी सिफारिस दिएको हुँ,’ उनले भने । उनको जस्तै जवाफ वडा नम्बर ४ का अध्यक्ष तामाङ र पूर्ववडाध्यक्ष लामाको छ । ४ नम्बर वडाध्यक्ष तामाङले विपन्न र टुहुरा बालबालिकालाई लामा पढाउन भारत पठाएर राम्रो काम गरेको दाबी गरे । उनले भने, ‘विकट ठाउँमा जन्मिएका नागरिकलाई राज्यले वास्ता गर्दैन । बरु भारतमा लामा पढ्दा कोही रिम्पोछे हुन्छ, कोही खेन्पो बन्छ र उतै रोजगार पनि पाउँछ ।’

बालबालिकालाई भारत लैजान स्थानीय कान्छा लामाले स्वयम्भूको पहेँलो गुम्बा पुर्‍याउने र तिब्बत घर बताउने लोब्साङ लामाले स्वयम्भूबाट भारतको बेंग्लोरसम्म लैजाने गरेका छन् ।

ad
ad