१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २२:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पारिवारिक कलहले वयस्क मनोरञ्जन क्षेत्रमा फस्दै बालश्रमिक

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २२:२३:oo

परिवारिक चरम हिंसापछि बालबालिका काठमाडौंका वयस्क मनोरञ्जन क्षेत्रमा बालमजदुर बन्न बाध्य हुने गरेको एक अध्ययनले देखाएको छ। 

चिल्ड्रेन लेबर एक्सन रिसर्च इनोभेसन इन साउथ एन्ड साउथ इस्ट्रन एसिया (क्लारिसा) ले गरेको अध्ययनले यस्तो देखाएको हो। 

क्लारिसाले मजदुरीको कारण पत्ता लगाउन अगस्ट ०२० देखि मे ०२१ सम्म काठमाडौंका चार सय बालमजदुरको जीवन गाथा अध्ययन गरेको थियो। अध्ययनमा ८ देखि २५ वर्ष उमेर समूहका मजदुरलाई सहभागी गराइएको थियो। 

सहभागीमध्ये सबैभन्दा धेरैले पारिवारिक हिंसा सहन नसकेपछि काठमाडौं आएको र होटेल रेस्टुरेन्ट तथा दोहोरी साँझमा मजदुरी गर्न सुरु गरेको बताएका थिए। 

अध्ययन ठमेल, गोंगबु, कलंकी, कोटेश्वर, सुन्धारा, दरबारमार्ग, मनोहरा, नयाँ बजार, बालाजुस्थित रेस्टुरेन्ट, डान्सबार, स्पा, मसाज, दोहोरी साँझ, डिस्को, खाजाघर, गेस्टहाउसलगायतका वयस्क मनोरञ्जन क्षेत्रमा गरिएका थिए। 

परिवारको कमजोर आर्थिक अवस्था, अभिभावकको बहुविवाह, सम्बन्धविच्छेद, मादकपदार्थ सेवनमा लिप्त अभिभावकका कारण पनि बालबालिकाले परिवार छाड्ने र त्यसपछि काठमाडौंका डान्सबार तथा  दाहोरी साँझमा बालमजदुर बन्न बाध्य हुने अध्ययनले देखाएको छ। 

गलत संगत र साथीभाइको लहैलहैमा लागेर पनि बालबालिका काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा बालमजदुर बन्न बाध्य भएको अध्ययनको निष्कर्ष छ। 

क्लारिसा नेपालका राष्ट्रिय संयोजक सुधीर मल्लले परिवारिक हिंसा र अभिभावकको बेवास्ता नै बालबालिका काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा बालमजदुर बन्ने मुख्य कारण रहेको बताए। 

उनले भनिन्, ‘क्यारिसाले करिब नौ महिना लगाएर काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा काम गर्ने चार सय बालमजदुरमाथि अध्ययन गर्यो। यस क्रममा केही नयाँ तथ्य फेला परेका छन्। जसले वयस्क मनोरञ्जन क्षेत्रमा हुने निकृष्ट प्रकारका बालश्रमसम्म बालबालिकाकाहरू किन र कसरी आइपुग्छन् भन्ने उजागर गर्छ । जसमा परिवारको कमजोर आर्थिक अवस्था र पारिवारिक हिंसा मुख्य कारण देखिएको छ। त्यसबाहेक आमाबाबु रक्सीको लतमा पर्नु, सम्बन्धविच्छेद पनि यसका कारण हुन्।’

वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने मजदुरप्रति समाजको दृष्टिकोण सकारात्मक नभएको हुँदा पीडा अझै सतहमा नआएको क्लारिसा नेपालकै अर्का अनुसन्धानकर्ता रञ्जना शर्माको भनाइ छ। 

उनले भनिन्, ‘वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकालाई समाजले नराम्रो तबरले हेर्छ। त्यसैले, उनीहरूको जीवनका भोगाइहरू समाजमा बाहिर आउन पाएका हुँदैनन्। हाम्रो अध्ययनको उद्देश्य दबिएर रहेका त्यस्ता समस्या बाहिर ल्याउनु हो।’

अध्ययनमा संलग्न क्लारिसाकै अर्का अनुसन्धानकर्मी सम्झना भुजेलले वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत बालमजदुर रोजगारदाता र ग्राहक दुवैबाट दुर्व्यवहारमा पर्ने गरेको अध्ययनले देखाएको बताइन्।

उनले भनिन्, ‘वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत बालश्रमिक रोजगारदाता र ग्राहक दुवैबाट दुर्व्यवहार र शोषणमा पर्ने अध्ययनले उजागार गरेको छ। उनीहरू चिनेजानेकै व्यक्ति, नातेदार वा छिमेकीबाट वयस्क मनोरञ्जन क्षेत्रमा बालश्रमिकका रूपमा प्रवेश गर्ने गरेको अध्ययनको निष्कर्ष छ।’

ad
ad