मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १३:०५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाँकेमा लक्ष्यभन्दा दुई गुणा कम धान खरिद

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १३:०५:००

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यभन्दा करिब दुई गुणा कम धान खरिद गरेको छ । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा नौ हजार क्विन्टल मात्र खरिद भएको कम्पनीका नेपालगन्ज प्रमुख रामशरण लामिछानेले बताए ।

फागुनको पहिलो सातादेखि बिक्रीका लागि किसान आउन छाडेको उनले बताए । उनले यस वर्ष जिल्लाका आठ सय ४० किसानबाट २० हजार क्विन्टल माध्यम र पाँच हजार क्विन्टल मोटो गरी २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यअनुसार खरिद गर्न नसकिएको बताए ।

तीन सय ४० किसानबाट सात हजार क्विन्टल मध्यम र दुई हजार क्विन्टल मोटो धान खरिद गरिएको उनको भनाइ छ । धान बिक्रीका लागि जिल्लाका आठवटै पालिकालाई कोटा निर्धारण गरी ५ पुसबाट धान खरिद सुरु गरिएको थियो ।

कम्पनीले ५ पुसबाट धान खरिद सुरु गरेको दाबी गरे पनि निर्धारित समयभन्दा धेरै ढिला गरी धान खरिद सुरु गरेको किसानले गुनासो गरेका छन् । कम्पनीले ढिला गरी धान खरिद गरेकाले अधिकांश किसानले पहिले नै धान बिक्री गरेको डुडुवा गाउँपालिका– १ होलियाका राजकुमार शुक्लले बताए । ‘कम्पनीले ढिला खरिद गरेपछि बाध्य भएर व्यापारीसँग सस्तोमा बिक्री गर्‍याैँ,’ उनले भने ।

व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गरेका कारण किसानले व्यापारीलाई धान बिक्री गरेको उनको भनाइ छ । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य दुई हजार नाै सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो ।

बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरका अधिकांश किसानले कम्पनीलाई धान बिक्री गरेको प्रमुख लामिछानेले बताए । उनले अन्य पालिकाका अति थोरै किसानले कम्पनीसँग धान बिक्री गरेको स्पष्ट पारे ।