१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
खाग तस्करीमा संलग्नलाई सार्वजनिक गर्दै सिआइबी । उनीहरूविरुद्ध सिआइबीको सहयोगमा डिभिजन वन कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ ।
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जग्गा किनबेच सुस्ताएपछि खागको कारोबार

गरिबी, अज्ञानता र लालचले निम्त्याएको एउटा अपराध

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

पाल्पा घर भई काठमाडौं कपन बस्ने ६२ वर्षीय बाबुलाल भट्टराईको मुख्य पेसा जग्गा दलाली हो । वित्तीय संस्थाहरूमा तरलता अभाव र कित्ताकाटमा पनि झन्झट हुन थालेपछि केही महिनायता जग्गाको कारोबार ठप्पजस्तै भएपछि उनको आर्थिक अवस्था खस्कँदै गएको थियो । परिवार पाल्नै पनि समस्या भइरहेको थियो । यही वेला जग्गाकै काम गर्ने डम्बरबहादुर आलेमगरले एक व्यक्तिसँग गैँडाको खाग रहेको र त्यो बेच्न सके खर्च आउने प्रस्ताव गरे । 

आर्थिक संकटमा गुज्रिरहेका भट्टराईले प्रस्ताव तत्कालै स्वीकार गरे । जग्गाकै कारोबारमा संलग्न जमुनाकुमारी शर्मा र इन्द्रमणि आचार्यलाई पनि यसबारे जानकारी दिई खाग किन्ने ग्राहक खोजी गर्न थाले । उनीहरूले करिब २० लाखमा खाग किन्ने व्यक्ति पनि भेट्टाए । सरस्वतीनगरस्थित जमुनाकुमारीको डेरामा खाग राखिएको थियो । खाग किन्न भन्दै १९ पुसमा एक टोली जमुनाकुमारीको डेरामा पुग्यो । तर, किन्ने व्यक्ति वास्तविक नभएर सुराकी थिए । प्रहरीलाई तत्कालै सूचना दिएर जमुनाकुमारी र इन्द्रमणिलाई खागसहित पक्राउ गरे । छिटो पैसा कमाउने लालचामा पर्दा उनीहरूले जेलयात्रा गर्नुप¥यो । 

दुईजनामामाथि अनुसन्धान गर्ने क्रममा थप १५ जना पक्राउ परे । अनुसन्धानका क्रममा चेपाङ समुदायदेखि जग्गाको दलाली गर्नेहरू आर्थिक लालचामा परेर गैँडाको चोरी–सिकारी र खागको बिक्रीमा लागेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा डिभिजन वन कार्यालय काठमाडौंले यसमा १४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । जसमा ११ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने एकजना धरौटीमा छुटेका छन् । दुईजना अझै फरार छन् ।

बाबुराम, जमुनाकुमारी, इन्द्रमणिसँगै प्रतापसिंह चौधरी, डम्बरकुमार आलेमगर, निर्मल शाही, हरिमाया राना, कमला तामाङ, वीरमान वाइबा र सोमबहादुर चेपाङ जेलचलान भएका छन् भने गजाधर सापकोटा एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । पक्राउ परेकामध्ये तुलसी चेपाङ, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङ भने संलग्नताको प्रमाण नपुगेपछि सरकारी वकिल कार्यालयको निर्णयअनुसार मुद्दा नचलाई छुटेका छन् । 

 चेपाङ समुदायको गरिबी, जग्गा एजेन्टको लालच 
यो अपराधको एक मुख्य पात्र चितवन शक्तिखोरकी कमला तामाङ हुन् । चेपाङ समुदायकी उनी खाग बेच्नका लागि गाउँकै वीरमान वाइबालाई साथमा लिएर गत पुसमा काठमाडौं आएकी थिइन् । उनको चिनजान स्याङ्जाकी हरिमाया रानासँग पनि थियो । रानाले उनलाई खाग बेच्न सघाउने आश्वासन दिएकी थिइन् । सोहीअनुसार काठमाडौंमा रानाले स्याङ्जाकै निर्मल शाहीसँग भेटघाट गराइदिइन् । हरिमाया र निर्मल दुवै ठेक्कापट्टाको काम गर्छन् । दुवैजना खाग बेचेर सजिलै पैसा कमाउनतर्फ लोभिए । 

निर्मलले गोरखाका दानबहादुर रानासँग चिनजान गराइदिए । दानबहादुर अध्ययनका लागि विदेश जाने विद्यार्थीको बैंक स्टेटमेन्ट बनाइदिने काम गर्छन् । उनले चिनजानका डम्बरबहादुर आलेमगरलाई ग्राहक खोज्न लगाउँछन् । डम्बरबहादुर रेस्टुरेन्ट व्यवसायी हुन् भने कहिलेकाहीँ जग्गा दलाली पनि गर्छन् । उनले नै बाबुरामलाई यससम्बन्धी प्रस्ताव गरेर जमुनादेवीसम्म विभिन्न तहमा गरेर खाग पुगेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापा बताउँछन् । गत १२ फागुनमा जिल्ला अदालत काठमाडौंले ११ जनालाई थुनामा पठाएको हो । 

 ४५ दिनको अनुसन्धानपछि संलग्न सबै पक्राउ
डिभिजन वन कार्यालयले ४५ दिन लगाएर गरेको अनुसन्धानमा गैँडा मार्नेदेखि बिक्री गर्न खोज्ने सबैजसो पक्राउ परेका छन् । पक्राउ परेकामध्ये सोमबहादुर चेपाङ गैँडाको चोरी–सिकारीमा संलग्न व्यक्ति हुन् । यही वर्ष दसैँ र तिहारको बीचमा उनीसहितका व्यक्तिले चितवनमा गोली हानेर गैँडा मारी खाग निकालेका थिए । पछि गैँडाको अस्थिपञ्जर मात्र भेटिएको थियो । ‘सोमबहादुरले बयानमा उल्लेख गरेको ठाउँ र चितवनमा गैँडाको अस्थिपञ्जर भेटिएको ठाउँ एकै छ,’ डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत दुर्गा कार्की भन्छिन्, ‘जस आधारमा खाग त्यही गैँडाको भएको पुष्टि भएको छ ।’ नेपालमा वन्यजन्तुको डिएनए गर्ने प्रणाली नहुँदा यस्ता विषयमा वैज्ञानिक प्रमाणीकरण भने हुने गरेको छैन । 

त्यसरी मारिएको गैँडाको खाग तीन महिना उनीहरूले घरमै राखे । गत पुसमा कमलालाई सो खाग बेच्न सोमबहादुरलगायतले काठमाडौं पठाएका थिए । त्यही क्रममा सुराकीको सूचनाका आधारमा सिआइबीले खाग बरामद गरी उनीहरूलाई पक्राउ गरेको छ । कार्कीका अनुसार पक्राउ पर्ने गिरोहका व्यक्तिहरू धेरैजसो जग्गा कारोबारमा संलग्न छन् । ‘जग्गा किनबेच सुस्ताएपछि पैसा कमाउने योजनाले यतातिर लागेको उनीहरूले बताएका छन्,’ कार्की भन्छिन्, ‘छिटो पैसा कमाउने लालचामा उनीहरू परेको देखिन्छ, यति ठूलो सजाय हुन्छ भन्ने पनि जानकारी रहेनछ ।’ उनीहरूविरुद्ध १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर भएको छ । उनीहरूले निकै गोप्य रूपमा खाग बिक्रीको योजना बनाएका थिए । त्यसका लागि पेसेवर अपराधीजस्तै कारोबारका क्रममा खागलाई लालपुर्जा तथा जग्गाको कोड भाषा प्रयोग गर्थे । 

खाग चोरी–तस्करीका घटनामा कारोबार गर्ने गिरोहका व्यक्तिले सुरुमै आर्थिक प्रलोभनमा पारेर गैँडा मार्न लगाउने गरेका छन् । यसमा भने गैँडा मारेपछि बल्ल ग्राहक खोजेको देखिन्छ । यद्यपि, पेसेवर समूहले खागको गुणस्तरमा चित्त नबुझाई नकिनेको सूचनासमेत अनुसन्धानमा आबद्ध अधिकारीले पाएका छन् । 

कमलाको बयानका आधारमा सिआइबीले आइतबहादुर तामाङ, राधाकृष्ण चेपाङ र तुलसी चेपाङलाई पनि पक्राउ गरेको थियो । आइतबहादुर उनकै श्रीमान् हुन् भने राधाकृष्ण भाइ हुन् । सम्बन्ध राम्रो नभएकाले प्रतिशोधस्वरूप आफूले उनीहरूको संलग्नता रहेको भन्दै पछि बयान फेरेकी थिइन् । अन्य प्राविधिक अनुसन्धानमा पनि संलग्नता नदेखिएपछि उनीहरू छुटेको सहायक वन अधिकृत कार्कीले बताइन् । पक्राउ परेकामध्ये धरौटीमा छुटेका गजाधरको भने प्रत्यक्ष भूमिका देखिएको थिएन । त्यस्तै, प्रतापसिंह चौधरीले खागको फोटो आदानप्रदानमा बाबुलाललाई सघाएका थिए । बाबुलालसँग स्मार्ट फोन नभएकाले उनले प्रतापसिंहमार्फत खागको फोटो आदानप्रदान गरी बिक्रीको प्रयास गरेका थिए । 
गैँडाको चोरी–सिकारीमा संलग्न चेपाङ समुदायका व्यक्तिहरू आर्थिक रूपले विपन्न छन् । ऋणमा परेकाले गैँडा मारेको पक्राउ परेका सोमबहादुरले बताएका छन् । ‘जेल परे पनि परिवार त ऋणमुक्त हुन्छ भनेर उनीहरूले जानीजानी यसरी गैँडा मारेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्, ‘चेपाङ समुदायका धेरै व्यक्ति यस्तै कारण वन्यजन्तुको चोरी–सिकारीमा लागेका छन्, उनीहरूलाई अपराधमा लाग्नबाट रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।’

ad
ad