
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै उहाँले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए। मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गयो ? भन्दै प्रश्न गरे।
उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए।
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार नरहेको जिकिर गर्दै उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहाेर्याउने चेतावनी दिए।
उनले भने, ‘आज यो सारा माओवादीले बिगार्याे, भत्कायो, अपराधीहरू, लुटेराहरू, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? दुई सय वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहाेर्याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने ०६० सालको माओवादी ब्युँताउन सकिन्छ।’