
हेटौँडा उपमहानगरपालिका– १० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
सवारी दुर्घटनामा मृत्यु भएका हेटौँडा– ६ चौघडाका कृष्णप्रसाद सापकोटालाई ठक्कर दिने सवारीसाधन पत्ता लगाउनुपर्ने माग गर्दै सापकोटाका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका हुन्।
उनीहरूले जिल्ला प्रहरी कार्यालयअगाडि जम्मा भएर सापकोटाको मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन तत्काल पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
फागुन २० गते शनिबार बिहान काठमाडौंबाट हेटौँडा आउँदै गरेका सापकोटाको हेटौँडा– १ चौकीटोलस्थित तिरतिरेधारनजिक त्रिभुवन राजपथमा ना.४६प २३७१ नम्बरको मोटरसाइक दुर्घटनामा परेको थियो।
उनको मोटरसाइकललाई अर्को कुनै सवारीसाधनले ठक्कर दिएको भन्दै आफन्तले ठक्कर दिने सवारीसाधन खोजी गर्न आग्रह गरेका थिए। प्रहरीले २४ घन्टा बित्दासमेत ठक्कर दिने सवारीसाधनलाई नियन्त्रणमा लिन नसकेको भन्दै विरोध जनाएका छन्।
५० वर्षीय सापकोटाको उपचारको क्रममा हेटौँडा अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको थियो।