राष्ट्रपतिमा कांग्रेसको बाजी

संसद्मा ठूलो दल भएर पनि आफ्नै ‘आत्मघाती’ अडानले संघदेखि प्रदेशसम्मको राजकीय सत्ताबाट विमुख बनेको कांग्रेसको शक्तिमा पुनरागमन

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

तत्कालीन पाँचदलीय गठबन्धनमा निर्वाचनअघि भएको सहमतिविपरीत शक्ति बाँडफाँटमा ‘आत्मघाती’ अडान राख्दा संघदेखि प्रदेशसम्मका राजकीय सत्ताबाट वञ्चित भएको कांग्रेसले राष्ट्रपतिमा बाजी मारेको छ । एमाले–माओवादीसहितको सातदलीय सत्तागठबन्धन दुई महिनामै भत्काएर कांग्रेसले शक्तिमा पुनरागमनको संकेत गरेको छ ।

पुरानो पाँचदलीय गठबन्धनमा थप तीन दल मिसिएर शुक्रबार बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको हो । नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चा छन् । 

पौडेल राष्ट्रपतिमा लगभग पक्का, आठदलीय नयाँ गठबन्धनसँग ६१% मतभार
आठदलीय गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग पक्का भएको छ । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि पौडेललाई अघि सार्ने जानकारी दिइसकेका छन् ।

आठ दलको बैठक चलिरहेका वेला तीन नेताबीच करिब डेढ घन्टा छुट्टै छलफल भएको थियो । सोही क्रममा पौडेललाई राष्ट्रपति बनाउने सहमति भएको हो । कांग्रेसमा कृष्णप्रसाद सिटौला पनि राष्ट्रपतिको दाबेदार छन् । तर, देउवाले शनिबार बस्ने कार्यसम्पादन समितिको बैठकबाट पौडेललाई अघि सार्ने बताएका छन् । 

तीन नेता पालैपालो प्रधानमन्त्री बन्ने 
नयाँ गठबन्धनमा भएको सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी पाँच वर्षमा पालैपालो प्रधानमन्त्री बन्नेछन् । सुरुको अढाई वर्ष प्रचण्डले देश हाँक्नेछन् । त्यस्तै, देउवा डेढ वर्ष र नेपाल एक वर्ष प्रधानमन्त्री बन्नेछन् । देउवा र नेपालमध्ये को अगाडि प्रधानमन्त्री बन्ने भन्ने नेताहरूले खुलाएका छैनन् ।

चुनावअघि तत्कालीन पाँचदलीय गठबन्धनमा सुरुको दुई वर्ष प्रचण्ड, त्यसपछिको दुई वर्ष देउवा र अन्तिम एक वर्ष नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, कांग्रेसले राष्ट्रपतिसँगै पहिलो कार्यकालको प्रधानमन्त्रीमा अडान लिएपछि गठबन्धन नै भत्किएको थियो ।

 डेढ घन्टा शीर्ष तीन नेताको छलफल र सहमतिपछि टुंगोमा 
आठ दलको बैठक चलिरहेकै बीचमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छुट्टै डेढ घन्टा छलफल भएको थियो । स्रोतका अनुसार तीन नेताबीच राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्ने र एकीकृत समाजवादीलाई पनि पावर सेयरिङ (प्रधानमन्त्री)मा सहभागी गराउने सहमति बनेको थियो । त्यस्तै, उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको छ ।

डेढ घन्टा लामो छलफलपछि शीर्ष नेताहरू ‘हामी सहमतिमा पुग्यौँ’ भन्दै आठ दलको बैठकमा सहभागी भएका थिए । जहाँ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव राखेका थिए । शीर्ष नेताहरूको सहमतिलाई आठ दलले सर्वसम्मतिले पारित गरेका थिए । ‘शीर्ष तीन नेतामा माधव नेपाललाई प्रधानमन्त्रीमा एडजस्ट गर्ने गरी सहमति जुटेको हो । सहमतिअनुसार कांग्रेसको राष्ट्रपति, जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो । स्रोतका अनुसार पहिलो अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्नेछन् । त्यस्तै, देउवाले डेढ वर्ष र नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति छ । 

राष्ट्रपतिको उम्मेदवारी आज
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हो ।

सुझावित समाचार