१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
२o८१ बैशाख १८ मंगलबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको लोभलाग्दो लय : त्रिदेशीय शृंखलामा क्लिन स्विप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१३:oo

नेपालले आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय शृंखला क्लिन स्विप गरेको छ । चौथो तथा अन्तिम खेलमा लिग– २ को विजेता स्कटल्यान्डलाई दुई विकेटले हराउँदै नेपालले क्लिन स्विप गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक भए । यस्तै, करण केसी र सन्दीप लामिछानेको भूमिका पनि उल्लेख्य रह्यो । 

माथिल्लो क्रमका अधिकांश ब्याटर आउट भइसकेको अवस्थामा कप्तान पौडेलले नवौँ विकेटका लागि करणसँग ७४ बलमा ७५ रनको कीर्तिमानी साझेदारी गरे । त्यसअघि स्कटल्यान्डलाई मध्यम स्कोरमा रोक्न सन्दीपले चार महत्वपूर्ण ब्याटरलाई आउट गरे । 

यो जितसँगै नेपालले लिग– २ को कुनै पनि शृंखला क्लिन स्विप गरेको कीर्तिमान पनि राख्यो । ०७६ माघयता नेपालले लिग– २ अन्तर्गत खेलेका ६ शृंखलाका २४ खेलमा आठ खेलमा मात्र जित निकालेको थियो । तर, सातौँ शृंखलामा आइपुग्दा चारमध्ये चारवटै खेल जितेर कीर्तिमान बनायो ।

अबको लक्ष्य विश्वकप छनोट खेल्ने
स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित निकालेसँगै नेपालले आइसिसी पुरुष विश्वकप लिग– २ को शीर्ष तीन स्थानमा पुग्ने आशा जीवितै राखेको छ । नेपालले लिगमा २८ खेलबाट २६ अंक जोडेको छ । १२ जित र १४ हारको सामना गरेको नेपाल लिगको छैटौँ स्थानमै छ । 

नेपालको तुलनामा युएईले दुई खेल कम खेलेको छ । युएई २६ खेलमा २७ अंक बटुली पाँचौँ स्थानमा छ । चौथो स्थानमा रहेको अमेरिकाले लिग– २ का सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । सबै खेल खेलिसकेकाले अमेरिकाको शीर्ष तीनमा रहने सम्भावना समाप्त भइसकेको छ । यस्तोमा शीर्ष तीनको होडमा नेपालसँगै नामिबिया र युएई पनि छन् । नामिबियाले ३४ खेलबाट ३७ अंक हासिल गरेको छ । 

नेपालले खेल्न बाँकी आठमध्ये दुई खेल नामिबियासँग छ । दुवै खेलमा नामिबिया विजयी भए उसको ४१ अंक हुनेछ । यो अवस्थाबाट नामिबियाले शीर्ष तीनभित्र आफ्नो दाबेदारी दिइरहनेछ । तर, नामिबियाको शीर्ष तीनको भविष्य युएई र नेपालले आगामी सिरिजमा निकाल्ने नतिजामा निर्भर हुनेछ ।

बाँकी सबै दश खेल जिते ४७ अंकका साथ युएई दोस्रो स्थानमा उक्लनेछ । नेपालले बाँकी आठवटै खेल जिते ४२ अंक हुनेछ । यस्तोमा लिगमा तेस्रो हुँदै नेपाल सोझै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ । तर, त्यसअघि युएईको नतिजा नेपालअनुकूल हुनुपर्नेछ । 

नेपालले लिगको थप शृंखलाका लागि यसै साता युएईसँग प्रतिस्पर्धा गर्दै छ । त्यहाँ नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध दुई–दुई खेल खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग पुनः दुई–दुई खेल खेल्नेछ । यी आठवटै खेलमा यसपटकको त्रिदेशीय शृंखलाकै लय कायम राख्ने प्रयासमा नेपाल हुनेछ । 

नेपालको दोस्रो लक्ष्य : एकदिवसीय मान्यता कायम राख्ने
शीर्ष तीन स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पुग्न नसक्ने अवस्थामा नेपालको दोस्रो लक्ष्य बाँकी आठमध्ये पाँच खेल जित्नु हुनेछ । त्यसो गर्न सके पाँचौँ स्थानमा रही नेपालले एकदिवसीय मान्यता रक्षा गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले लिग– २ का शीर्ष पाँच देशलाई एकदिवसीय मान्यता प्रदान गर्छ । त्यो अवसर गुमे नेपालले अहिले प्राप्त गरेको एकदिवसीय मान्यता गुम्नेछ । 

लिग– २ का शीर्ष तीनबाहेक बाँकी चार टोलीले प्लेअफ खेल्नेछन् । स्कटल्यान्ड र ओमान आगामी जुन–जुलाईमा जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि सोझै पुगिसकेका छन् । तेस्रो हुने टिम पनि सोझै पुग्नेछ । तर, पुछारमा रहने चार टोलीले भने नामिबियामा मार्च–अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ । 
 

ad
ad