
प्रत्येक वर्ष हुँदै आएको मिस नेपालको छनाेटका लागि यस वर्ष सातै प्रदेशमा अडिसन हुने भएको छ।
द हिडेन ट्रेजरको आयोजना, डाबर बाटिकाको मुख्य प्रायोजन, नेपाल पर्यटन बोर्डको सहयोगमा हुने प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरू छनाेटका लागि देशका सातै प्रदेशमा अडिसन आयोजना गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी हुनेहरूका लागि आवेदनसमेत खुला गरिएको र आउँदो १ चैतसम्म आवेदन दिन पाइने पत्रकार सम्मेलनमा आयोजक ड हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए।
प्रतियोगितालाई फराकिलो बनाउने उद्देश्यसहित यस वर्षदेखि सातवटा प्रदेशमा अडिसन आयोजना गर्न लागेको उनले जानकारी दिए।
सात प्रदेशको अडिसन सम्पन्न भएपछि काठमाडाैंमा हुने विभिन्न चरणका छनाेटपछि फाइनलका लागि छानिएका प्रतिस्पर्धीहरूले उपाधिका लागि ललितपुरको गोदावरीमा १३ जेठमा हुने प्रतिस्पर्धामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सात प्रदेशको अडिसनपछि छानिएका प्रतियोगीहरूलाई विभिन्न विधाका उत्कृष्ट प्रशिक्षकहरूद्वारा गुरुमिङसम्बन्धी दुईमहिने तालिमसमेत दिइनेछ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन दिनेहरू न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरू हुनुपर्नेछ ।
आवेदनका लागि कुनै शुल्क नलाग्ने जानकारी दिँदै राजकर्णिकरले यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलको उपाधि रहने जानकारी दिए ।
सात प्रदेशमध्ये इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा आउँदो १ चैतभित्र क्षेत्रीय अडिसनहरू सक्ने र ४ चैतमा काठमाडाैं अडिसन हुने भएको छ । कार्यक्रममा मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का र मिस नेपाल अर्थ २०२२ सरिसा श्रेष्ठलगायतको उपस्थिति थियो।