१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचन : कांग्रेसमा उत्साह बढ्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२९:oo

माओवादीले राष्ट्रपतिमा समर्थन गरे प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउने कांग्रेसको संकेत

राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा कांग्रेस नेताहरू उत्साही देखिन थालेका छन् । २५ फागुनमा हुने निर्वाचनसँगै अहिलेको राजनीतिक कोर्स परिवर्तन हुने उनीहरूको दाबी छ । कांग्रेसबाट हुने उम्मेदवारीमा एमालेबाहेक सबै दलबीच सहमति जुट्ने उनीहरूको भनाइ छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारको पक्षमा सहमति जुटाउन प्रायः सबै दलसँग छलफल भइरहेको बताए । ‘कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । माओवादी पनि यसमा सकारात्मक नै छ,’ उनले भने । 

नेताहरूका अनुसार माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थनसँगै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पूर्ण कार्यकालको प्रतिबद्धता चाहेको छ । कांग्रेसले पनि माओवादीले राष्ट्रपतिमा सघाए प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउन सकारात्मक रहेको संकेत दिएको छ ।

स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् । कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू पनि निरन्तर छलफलमा छन् । चाँडै माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय हुने र नयाँ राजनीतिक समीकरण बन्ने कांग्रेस नेताहरूको भनाइ छ । 

‘केही दिनमा माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्ने तयारी छ । अहिलेसम्म सबै रूपमा माओवादी सकारात्मक नै छ । माओवादीको निर्णयपछि औपचारिक रूपमा उम्मेदवारको नाममा निर्णय गर्नेछौँ,’ माओवादीसँग छलफलमा सहभागी एक नेताले भने ।

यसको संकेत केही दिनअघि महामन्त्री गगन थापाले समेत गरेका थिए । थापाले १ फागुनमा रुपन्देही– १ कांग्रेसले तिलोत्तमामा गरेको कार्यक्रममा १० फागुनसम्ममा नयाँ समीकरण बन्ने दाबी गरेका थिए । ‘१० पुसमा बनेको गठबन्धन १० फागुनसम्ममा भत्काएरै छाड्छौँ,’ उनको भनाइ थियो । थापा माओवादी नेताहरूसँग निरन्तर संवादमा छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिमा उम्मेदवारीसँगै नयाँ राजनीति कोर्स बन्ने दाबी गरे । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले १३ फागुनमा उम्मेदवारी मनोनयनसँगै राजनीतिक कोर्स परिवर्तन हुने बताए । ‘संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँगै संविधानको सार्थक कार्यान्वयनमा जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ । हप्ता–दश दिनमा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ,’ उनले भने ।

राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसमा देखिएको उत्साहलाई अर्थपूर्ण मानिएको छ । नेताहरूले राष्ट्रपतिको उम्मेदवार कसलाई अघि सार्ने भन्ने विषयमा भने मुख खोलेका छैनन् । कांग्रेस नेताहरू अहिलेसम्म रामचन्द्र पौडेलबाहेकलाई अघि सार्ने सम्भावना नरहेको बताउँछन् । यसबाहेक कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम पनि चर्चामा छ । 

नेता प्रकाशमान सिंहले पनि कांग्रेसले अघि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरे । नेपाल जेसिसले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्को पहिलो दलका रूपमा राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक र जित निश्चित रहेको जिकिर गरे । ‘शक्ति सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्नेछौँ । तर, कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्नुहुन्छ,’ सिंहको दाबी थियो । 

संसद्मा ठूलो दल बनेर पनि सत्ताबाहिर पुगेको कांग्रेसले २६ पुसमा सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनसँगै ‘कोर्स करेक्सन’को प्रयासलाई अघि बढाएको थियो । कांग्रेसको समर्थन पाएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गरिरहेका छन् । कांग्रेसले ९ माघमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेर औपचारिक रूपमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल सुरु गरेको थियो । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको बैठकमा कांग्रेसले राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने रणनीति सुरु गरेको थियो । बैठकसँगै आफ्नोतर्फबाट र उम्मेदवारीका सम्बन्धमा अन्य दलहरूसँग समेत छलफल गरिरहेको छ । यसबाहेक कांग्रेसले औपचारिक बैठक बसेर राष्ट्रपतिको विषयमा कुनै निर्णय भने गरेको छैन ।

राष्ट्रपतिमा कांग्रेसभित्र जसको चर्चा छ

कांग्रेस नेताहरूले राष्ट्रपतिको उम्मेदवारमा कसलाई अघि सार्ने भन्नेबारे मुख खोलेका छैनन् । तर, अहिलेसम्म रामचन्द्र पौडेलबाहेकलाई अघि सार्ने सम्भावना नरहेको बताउँछन् । पौडेलबाहेक कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम पनि चर्चामा छ ।

राष्ट्रपतिको निर्वाचनमा दुई मतदान केन्द्र, पौडेल निर्वाचन अधिकृत

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकेको छ । आयोगले नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई मतदान केन्द्रसमेत तोकेको छ ।

आयोगका सहप्रवक्ता ऋषिराम भुसालले सोमबार संसद् भवनमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताए । त्यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) सदस्यका लागि एउटा तथा प्रदेश सभा सदस्यका लागि अर्को मतदान केन्द्र तोकिएको उनले बताए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ ।

ad
ad