
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पाणिनी गाउँपालिका– ८ पालीमा शनिबार बिहान लु २ त ९२७१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको हो । उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरचालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शंकरबहादुर कुमाल घाइते छन् । उनीहरूलाई उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
पालीको तल्लो पंगेनीबाट दाउरा लिन जाँदै गरेको ट्रयाक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी १५० मिटर तल खसी दुर्घटना भएको थियो ।