१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ माघ २८ शनिबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसदमा राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन : विकास र समृद्धि हासिल गर्ने नीति–कार्यक्रम ल्याउन सुझाव 

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ माघ २८ शनिबार ०६:१४:००

राष्ट्रपति विद्यादेवी भण्डारीले विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुन संघीय संसद् र सरकारलाई आह्वान गरेकी छिन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने गरी अबका कामकारबाही अगाडि बढाउन सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले सुशासनको प्रत्याभूत गर्न र आमनागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त हुनुपर्नेमा जोड दिइन् । संविधानको भावनाअनुरूप बढीभन्दा बढी सेवा स्थानीय तहबाट उपलब्ध गराउने र प्रदेश तथा संघीय सरकार विकास निर्माण र नीति निर्माणमा लाग्नु श्रेयकर हुने उनको धारणा छ । 

कार्यकालको उत्तरार्धमा पुगेकी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिको हैसियतले अन्तिम सम्बोधन गर्दै राष्ट्रपतिका रूपमा कार्यसम्पादन गर्न सहयोग पुर्‍याएकोमा सबै सरकार र सांसदलाई धन्यवाद दिइन् । निर्वाचन आयोगले २५ फागुनमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्दै छ । 

संविधान कार्यान्वयनको सात वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ संस्थागत भएको, संघीय शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यावहारिक सुदृढीकरणका लागि अवलम्बन गरिएको नीति तथा निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारले राजनीतिक स्थायित्व कायम भएको उनको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल मोडमा रहेकाले आमनागरिकको आर्थिक–सामाजिक जीवनलाई हेरेर सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउनुपर्ने र वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने सुझाव दिइन् । उत्पादन बढाउन र व्यापार सन्तुलन कायम गर्नेतर्फ सरकारका नीति तथा कार्यक्रम परिलक्षित हुनुपर्नेमा उनको जोड थियो । 

वैदेशिक रोजगारीमा गएका नेपालीले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई प्रोत्साहन, उत्पादनका साधन र लगानीको स्रोतमा पहुँच वृद्धि र प्रविधिमा सरकारले सहयोग गरी कृषिमा पूर्णकालीन रोजगारी सिर्जना गर्न तत्कालै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् । 

उद्योग क्षेत्रको विकासका लागि आवश्यक आधारभूत पूर्वाधारको व्यवस्था गर्न, लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उद्योग क्षेत्रको रोजगारीले आम गरिबी न्यून गर्न भूमिका निर्वाह गर्ने भएकाले उद्योग क्षेत्रको रोजगारीलाई प्राथमिकतामा राख्न सुझाइन् ।

पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्ने, नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको व्यापक प्रचार, साहसिक पर्यटनको विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन् । भैरहवा र पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि वैकल्पिक हवाई रुटको उपलब्धताका सम्बन्धमा तत्कालै पहल गर्नुपर्ने, हवाई सुरक्षा सुनिश्चित गर्दै सबै स्थानबाट विमानस्थलसम्म यातायात पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने भण्डारीको भनाइ छ । 

प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् । युवा तथा शिक्षित बेरोजगारमा देखिएको चरम निराशाको अवस्थालाई तोड्न सरकारले ध्यानाकर्षण गराइन् । सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र पहुँच वृद्धिमा ध्यान दिनुपर्ने, विद्यालय शिक्षामा बृहत् सुधार गर्दै विश्वविद्यालयलाई एक्सलेन्स सेन्टरका रूपमा विकास गर्नुपर्ने र सामान्य औषधि र न्यूनतम उपचारका अभावमा अकालमा ज्यान जाने अवस्था आउन नदिने वातावरण बनाउन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले विकास आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ निराकरणका लागि हस्तक्षेपकारी कानुन निर्माण गर्नुपर्ने, पूर्वाधार निर्माणको गुणस्तरमा व्यापक सुधार गर्नुपर्ने, निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित मर्मतसम्भार गर्नुपर्ने, निर्माणमा समन्वय गर्नुपर्ने सुझाव दिइन् ।