
एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच बुधबार राति भएको छलफल विनानिष्कर्ष सकिएको छ । दुई चरणमा भएका छलफलमा ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए ।
तर, नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ हुनुपर्ने पुरानै अडान दोहोर्याएको थियो । ओलीले माग सम्बोधनका लागि गम्भीर पहल लिने संकेत नगरेको नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण जगेछ्वा थारूले बताए ।
‘अहिले सहयोग गर्नुहोस्, रिहाइका लागि पहल गर्छौँ भन्ने पुरानै ढंगका आश्वासन मात्रै दिनुभयो । हामी त्यसमा सहमत भएनौँ । भोलि (बिहीबार) बिहानसम्म थप के हुन्छ हेरौँ । अहिलेकै अवस्थामा विश्वासको मत दिने सकिने वातावरण बनेको छैन,’ उनले भने ।