
सप्तरीस्थित एनआइसी एसिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको पाइएको छ ।
ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो ।
प्रबन्धक यादवले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको नयाँ पत्रिकालाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख छ ।
विवरणअनुसार किर्ते जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा नम्बर ७) की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ ।
सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ । तर, प्रबन्धक यादवले खातुनलाई जग्गाधनी बनाई एनआइसी एसिया बैंक राजविराज शाखाबाट आइतबार रोक्का नम्बर १५१२०९८०एनएल०००२२९० मा जग्गा रोक्का गरिएको छ।
स्रोतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खाँनले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् । यस्तै, एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।
प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको स्पष्ट पारे ।
‘त्यो जग्गाको किर्ते धनी खडा गरी ऋण प्रवाह भएको कुरा मैले पनि सुनेको छु,’ उनले भने, ‘प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा राजविराज नगरपालिका– ८ निवासी रवीन्द्रकुमार यादवको नाममा छ, ढुक्क हुनुस् ।’
एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफूलाई जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारबाही हुने बताए । ‘सामान्यतयाः यस्तो हुँदैन, तर त्यस्तो भएको रहेछ भने संलग्नलाई कारबाही हुन्छ,’ उनले भने ।
सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले यस विषयमा प्रहरीमा जानकारी आइनसकेको प्रतिक्रिया दिए ।