१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रेम गौतम काठमाडौँ
२०७९ माघ २५ बुधबार ०८:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसपा र एकीकृत समाजवादीलाई  सरकारमा ल्याउन प्रधानमन्त्रीको प्रयास

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडौँ
२०७९ माघ २५ बुधबार ०८:५८:००

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी समर्थन कायम राख्दै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जसपासँग संवाद अगाडि बढाएका छन् । राष्ट्रपति निर्वाचनसम्म विकसित राजनीतिक घटनाक्रम हेर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने योजनामा रहेका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपासँग संवाद थालेका हुन् । 

मंगलबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहकार्य र राजनीतिक स्थायित्वका विषयमा छलफल भएको छ । सरकार गठन प्रक्रियामै सहभागी जसपा र समर्थन गरेको एकीकृत समाजवादी मन्त्रिपरिषद्मा भने सहभागी छैनन् । 

स्रोतका अनुसार तीन नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, विकसित घटनाक्रम र सहकार्यबारे छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्वका लागि एकीकृत समाजवादी र जसपाको बलियो साथ खोजेका छन् । छलफलमा प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

प्रचण्डले सत्तारूढ गठबन्धनमा समस्या आउनेतर्फ संकेत गरेको स्रोतले बतायो । ‘एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी हुन औपचारिक आग्रह गरिएको हो,’ स्रोतले भन्यो, ‘भोलि अप्ठ्यारो स्थिति नआओस् भन्नेमा प्रधानमन्त्री सतर्क हुनुहुन्छ । त्यसैले उहाँहरू (एकीकृत समाजवादी र जसपा)लाई सरकारमा ल्याउन कोसिस भइरहेको छ ।’ शीर्ष तीन नेताबीच साँझ करिब दुई घन्टा भेटवार्ता भएको थियो । 

२५ फागुनमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । संवैधानिक पदमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावपछि एमाले असन्तुष्ट छ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै जसपा सरकारमा सहभागी भएको छैन । एकीकृत समाजवादी प्रतिपक्षमा छ । प्रतिनिधिसभामा रास्वपाका १९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । 

भावी राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिए पनि मुख्य सत्ता सहयात्री दल एमालेले आफ्नो उम्मेदवारको पक्षमा सहमति हुनुहुपर्ने बताउँदै आएको छ । विवाद बढ्दै जाँदा गठबन्धन नै तलमाथि पर्न सक्ने विश्लेषण भइरहँदा प्रधानमन्त्रीले अन्य दलसँग संवाद अगाडि बढाएका हुन् । 

माओवादी महासचिव देव गुरुङले प्रधानमन्त्रीलाई प्रायः सबै दलको समर्थन रहेकाले सबैलाई मिलाएर लैजान चाहेको बताए । ‘प्रधानमन्त्रीलाई ऐतिहासिक रूपमा समर्थन प्राप्त भएको छ । यो एक प्रकारले अवसर पनि हो । त्यसको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो,’ उनले भने, ‘विचार मिल्ने दलहरूसँग सहकार्य गरेर जाऔँ भन्नु नौलो कुरै भएन ।’ 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तत्कालको प्राथमिकता सरकार नभई संगठन निर्माण, विस्तार र सुदृढीकरण भएको दाबी गरे । तर, परिस्थिति फेरिए नयाँ ढंगले अघि बढ्न तयार रहेको उनको भनाइ छ । ‘अहिले हाम्रो ध्यान सरकारमा छैन । परिस्थितिमा फेरबदल आयो र अस्थिरताको अवस्था देखियो भने सहजीकरण गर्न सक्छौँ ।’ जसपा जसपा अध्यक्ष उपेन्द्र यादवले सामान्य कुराकानी भएको बताए । ‘सामान्य हाई–हेलो भयो । खास त्यस्तो केही छैन,’ उनले भने । 

रास्वपा सरकारबाट बाहिरिएपछि बाँकी पाँच मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले सम्हालै आएका छन् । हाल गृह, शिक्षा, श्रम, वन र खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् । माओवादी नेताहरूका अनुसार प्रधानमन्त्री राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र हेरफेरको तयारीमा छन् ।

भेटमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी केन्द्र निर्माणबारे पनि छलफल भएको छ । निर्वाचनताका अगाडि बढेको समाजवादी केन्द्र निर्माणको प्रयास नयाँ गठबन्धन बनेसँगै रोकिएको थियो । ‘बीचमा हामी धेरै नजिक पुगेका थियौँ । नयाँ गठबन्धन बनेपछि ठोस रूपमा कुराकानी अगाडि बढ्न सकेको थिएन । सम्बन्ध सुधार र सहकार्यको विषयमा शीर्ष नेताहरूबीच छलफल भयो,’ स्रोतले भन्यो ।

सम्बन्ध सुधारको प्रयासस्वरूप भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रचण्डले पूर्वमाओवादीसहित एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा बनाउन चाहेका छन् ।