मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २२ आइतबार ०८:१४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले खोज्यो विपक्षी गठबन्धनको साथ, उम्मेदवारबारे थप छलफल गरेर टुंगो लगाइने 

Read Time : > 1 मिनेट
२०७९ माघ २२ आइतबार ०८:१४:००

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा संसद्मा प्रतिपक्षी भूमिकामा रहेका दलहरूको साथ खोजेको छ । शनिबार बसेको विपक्षी गठबन्धनको बैठकमा यो विषयमा टुंगो नलागेपछि आइतबार थप छलफल गरेर टुंगो लगाउन लागिएको हो । समझदारीकै आधारमा साझा उम्मेदवार उठाउने कांग्रेसको तयारी छ ।

रमेश लेखक मुख्य सचेतक, कांग्रेस 

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारीका विषयमा दलहरूसँग एकसरो छलफल भयो । टुंगोमा पुगेका छैनौँ । थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ । आइतबार पार्टीको बैठक बस्छ र अरू दलहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार कांग्रेस, एकीकृत समाजवादी र लोसपाबीच छलफल भएको थियो । कांग्रेस मुख्य सचेतक रमेश लेखकका अनुसार बैठकमा उम्मेदवारीबारे सामान्य छलफल भएको थियो । उनले आइतबार थप छलफलबाट उम्मेदवारको विषय टुंगो लाग्ने बताए । ‘राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारीका विषयमा दलहरूसँग एकसरो छलफल भयो । टुंगोमा पुगेका छैनौँ । थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ,’ लेखकले भने, ‘आइतबार पार्टीको बैठक बस्छ र अरू दलहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ ।’ 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बैठकमा निर्वाचनबारे सामान्य छलफल भएको बताए । उनले आइतबार थप छलफलबाट उम्मेदवारको टुंगो लाग्ने बताए । ‘सामान्य छलफल भयो । थप छलफल गरेर टुंगोमा पुग्छौँ,’ उनले भने । स्रोतका अनुसार कांग्रेसले उम्मेदवारका रूपमा कमला पन्तलाई अघि सार्ने तयारी गरेको छ । 

कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार उठाउने बैठकमा प्रस्ताव गरेको थियो । यस विषयमा अरू दलसमेत सकारात्मक रहेको एक नेताले जानकारी दिए । ‘कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार प्रस्ताव गर्ने र यसमा सघाउन आग्रह गर्‍यो । अरू दलले आफ्नोतर्फबाट उम्मेदवार अघि सार्ने अवस्था नरहेकाले सकारात्मक रहेको बताउनुभयो । थप छलफल गरेर साझा उम्मेदवार उठाउने र राष्ट्रिय सभामा रिक्त एक पदको निर्वाचन र राष्ट्रपति निर्वाचनमा पनि मिलेर जानुपर्छ भन्नेबारे छलफल भयो,’ ती नेताले भने ।शनिबारको बैठकमा जनमोर्चा भने सहभागी भएको थिएन । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफूलाई बैठकबारे कुनै जानकारी नगराइएको बताए । ‘बैठकबारे हामीलाई जानकारी नै थिएन । हाम्रो भूमिका के हुन्छ भन्ने पछि नै थाहा हुन्छ,’ उनले भने । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । 

राष्ट्रिय सभामा एमालेका १६, माओवादी १५, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा र जनमोर्चा एक–एक, स्वतन्त्र एक, मनोनीत तीनजना सदस्य छन् । एक सिट रिक्त छ । राष्ट्रिय सभा उपाध्यक्षको आइतबार मनोनयन र सोमबार निर्वाचनको कार्यतालिका छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो नेतृत्वमा संसद्मा प्रतिपक्षी भूमिकामा रहेका दलहरूको गठबन्धन बनाउने तयारी गरिरहेको छ ।