१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७९ माघ २० शुक्रबार १५:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०७९ माघ २० शुक्रबार १५:२८:००

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उनको उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्युरोले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो ।

‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, टाटु र रजस्वला भए–नभएको परीक्षण गरिएको रहेछ,’ ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुईपटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरूले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उनले थपे, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरूको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’

पीडित बालिकालाई मंसिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ । 

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । 

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रहरीको तथ्यांकअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । पछिल्ला पाँच वर्षमा ३० बालिकालाई बेचबिखन तथा ओसारपसार  हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ ।