मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार ०७:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठमेलका डिस्को तथा क्लबहरूमै लागुऔषधको कारोबार हुने प्रहरी आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार ०७:४५:००

स्वेदशी–विदेशी पर्यटकको केन्द्र काठमाडौंको ठमेल लागुऔषध कारोबारको पनि हब बन्दै गएको छ । रेस्टुरेन्ट तथा डिस्कोमै कारोबार हुने सूचनाका आधारमा प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ । 

विकासराज खनाल, एसएसपी, लागुऔषध अनुसन्धान ब्युरो
ठमेल क्षेत्रमा लागुऔषधको कारोबार हुने सूचनाका आधारमा निगरानी बढाएका छौँ । केहीलाई हालै पक्राउसमेत गरिएको छ । क्लबहरूमा सेवन र कारोबार हुने सूचना प्राप्त भएको छ, त्यसउपर अनुसन्धान गरिरहेका छौँ । 

लागुऔषध नियन्त्रण ब्युरोले गत महिना यस्ता सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये तीनजनासँग चरेस तथा गाँजा बरामद भएपछि उनीहरूलाई मुद्दा चलाइएको छ । ‘ठमेलमा सडकमै बसेर लागुऔषध बेच्ने सातजनालाई पक्राउ गरेका थियौँ,’ ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले भने, ‘त्यसमध्ये तीनजनासँग लागुऔषध बरामद भएकाले उनीहरूलाई थुनामै राखेर अनुसन्धान अघि बढेको छ ।’ सोम दमाईं, सुरेन्द्र नेपाली र नारायण श्रेष्ठसँग गाँजा र चरेस बरामद भएको थियो । खासगरी उनीहरूले विदेशी पर्यटकलाई लक्षित गरी लागुऔषध बिक्री गर्दै आएका थिए । 

डिस्को तथा ब्लकहरूमा पनि लागुऔषधको सेवन तथा कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको ब्युरोका प्रमुख एसएसपी खनालले बताए । ‘क्लबहरूमा सेवन र कारोबार हुने सूचना प्राप्त भएको छ,’ उनी भन्छन्, ‘यसमा हाम्रो विशेष टोलीले निगरानी गरिरहेको छ ।’ 

प्ले ब्वाई क्लबमा हुक्कामा राखेर आइस ड्रग सेवन गरेको सूचनाका आधारमा ब्युरोले दुईजनालाई गत असोजमा पक्राउसमेत गरेको थियो । सुरज पराजुली र राजन पराजुलीलाई प्रहरीले पक्राउ गरेको थियो । सुरजको साथबाट १० ग्राम आइस ड्रगसमेत बरामद भयो । तर, यसमा क्लब सञ्चालकको भने संलग्नता भेटिएन । त्यसवेला पक्राउ परेका राजन सैनिक जवान हुन् । उनी धरौटीमा छुटेका छन् ।

त्यसअघि पक्राउ परेका प्रकाश थापा, सोनाम घले तथा सोममाया तामाङमाथि अनुसन्धान गर्दा उनीहरूको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका सुरजले क्लबमा गएर लागुऔषध बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । नेपाल आउने कतिपय विदेशीहरू लागुऔषध सेवनकर्ता हुने गरेका छन् । त्यस्तै पर्यटकका लागि सानो परिणाममा लागुऔषध ठमेलका सडकमा खुलेआम कारोबार हुने गरेका छन् । 

ब्युरोका एक प्रहरी अधिकारीका अनुसार कतिपय क्बलमा लागुऔषधकै नसामा कतिपय झुमिरहेको देखिन्छ । ‘तर, उनीहरूको सञ्जाल पत्ता लगाउन सकेका छैनौँ,’ ती प्रहरी भन्छन्, ‘कतिपयमा क्लब सञ्चालक पनि मिलेको हुन सक्छ ।’