
सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेकाे छ । देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हाे।
सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख गर्दै दरपीठ गरेका हुन्। प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट व्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रूपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपीठ आदेशमा उल्लेख छ।
सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपीठ भएको हो। रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ। प्रधानमन्त्री दाहाललाई गत पुस २६ कांग्रेसले पनि विश्वासको मत दिएको थियो। रासस