Skip This
मुरलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 13 May, 2025
एजेन्सी नयाँदिल्ली
२o७९ माघ १७ मंगलबार o७:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुरलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o७:oo:oo

भारतीय ओपनर मुरली विजयीले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । मुरलीले सोसल मिडियाबाट आफू आबद्ध भारतीय क्रिकेट टोली चेन्नई सुपर किंग्स तथा तमिलनाडु क्रिकेट संघलाई धन्यवाद दिएका छन् । मुरलीले आफ्नो क्रिकेट करिअरमा सन् २००२–०१८ सम्मको यात्रा अस्विमरणीय भएको जनाएका छन् । ‘मैले २००२ देखि २०१८ सम्म क्रिकेटसँग प्रत्यक्ष नाता जोड्ने अवसर पाएँ, भारतको जर्सीबाट खेल्न पाउँदा ती क्षण मेरो जीवनकै अति सुन्दर पक्षका रूपमा रहनेछ,’ मुरलीले सोसल मिडियामा भनेका छन्, ‘मेरो यहाँसम्मको यात्रामा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद छ !’ 

मुरलीले घरेलु क्रिकेट तमिलनाडुबाट सुरु गरेका थिए । टेस्ट क्रिकेटमा भारतका लागि विशेषज्ञ ओपनिङ ब्याट्सम्यानका रूपमा चिनिने मुरलीले ६१ टेस्टमा प्रतिस्पर्धा गरेका छन् । सन् २००८ मा उनले टेस्टमा डेब्यु गरेका थिए । यसक्रममा उनले तीन हजार नौ सय ८२ रन बटुले । टेस्ट खेलमा उनले १२ शतक तथा १५ अर्धशतकीय इनिङ्स खेलेका छन् । भारतीय टोलीबाट उनले १७ एकदिवसीय तथा नौवटा अन्तर्राष्ट्रिय टी–२० खेलमा सहभागिता जनाएका छन् । 

पाँच मुख्य इनिङ्स
मुरलीले आफ्नो क्रिकेट करिअरमा पाँच टेस्टलाई महत्वपूर्ण मानेका छन् । सन् २०११ देखि २०१५ सम्ममा उनले भारतीय टोलीका लागि टेस्ट खेलमा ओपनिङ गर्दै राम्रा इनिङ्स खेलेका थिए । यसमा उनले ब्रिस्बनमा भएको टेस्टमा अस्ट्रेलियाविरुद्ध एक सय ४४ रन तथा ट्रेन्टब्रिजको टेस्टमा एक सय ४५ रन जोडेका थिए । यसैगरी, लर्डस् टेस्टमा ९५ तथा एडिलेडमा ९९ रन बनाएका मुरलीले दक्षिण अफ्रिकाविरुद्ध किंग्समेड मैदानमा भएको टेस्टमा ९७ रन जोडे ।

एकदिवसीयमा उनले तीन सय २९ रन तथा टी–२० मा एक सय ६९ रन जोडे । सन् २०१८ मा उनले भारतबाट अन्तिमपटक टेस्ट खेल खेले । पर्थमा भएको अस्ट्रेलियाविरुद्धको टेस्ट नै उनको करिअरकै अन्तिम खेल बन्यो । सन् २०१५ मा जिम्बावेविरुद्ध अन्तिम एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका मुरलीले सन् २०१३ मा भारतले च्याम्पियन्स ट्रफी जित्दा महत्वपूर्ण खेलाडी बनेका थिए । 

आइपिएलमा दुई शतक
मुरलीले सन् २००८ देखि आइपिएल खेलेका थिए । आइपिएलको पहिलो सिजनमै उनी चेन्नईसँग जोडिए । सन् २०१० र २०११ को सिजनमा उनले चेन्नईका लागि दुई शतकीय इनिङ्स खेल्न सफल भए । मुरलीले शतकीय इनिङ्स खेलेको सिजनमा चेन्नई आइपिएल च्याम्पियन बनेको थियो । सन् २०१० मा उनले राजस्थानविरुद्ध एक सय २७ रनको इनिङ्स खेलेका थिए । 

जसमा उनले ५६ बलमा आठ चौका र ११ छक्का प्रहार गरेका थिए । आइपिएलमा एक सय ६ खेलमा उनले १२१.८७ स्ट्राइकमा दुई हजार ६ सय १९ रन बनाएका छन् । जसमा १३ अर्धशतक समावेश छ । अहिले उनी आइपिएलमा छैनन् । सन्न्यास घोषणासँगै मुरलीले भविष्यमा क्रिकेटको बिजनेस गर्ने र विश्वमा आयोजना हुने टी–२० फ्रेन्चाइज लिगमा खेल्ने बताएका छन् । आइपिएलमा उनी कुनै एक टोलीका मेन्टर वा प्रशिक्षकका रूपमा पनि देखिन सक्छन् ।