Skip This
विवादबीच आज क्यानको बोर्ड बैठक : सन्दीपको निलम्बन फुकुवा र नेपाल टी–२० मुख्य एजेन्डा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 13 May, 2025
रमेश सुवेदी काठमाडौं
२o७९ माघ १७ मंगलबार o६:३४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विवादबीच आज क्यानको बोर्ड बैठक : सन्दीपको निलम्बन फुकुवा र नेपाल टी–२० मुख्य एजेन्डा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o६:३४:oo

नेपाल क्रिकेट संघ (क्यान)को पूर्णकालीन बोर्ड बैठक पोखरामा मंगलबार बस्दै छ । क्यानले सोमबार आफ्ना सबै पदाधिकारीलाई बैठकमा सहभागी हुन डाकेको छ । बोर्डका केही सदस्यले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्षसहित अन्य पदाधिकारीको राजीनामा माग राखेपछि तत्कालै बार्ड बैठक बस्न लागेको हो । क्यान आफैंले आयोजना गरेको नेपाल टी–२० लिग निकै विवादास्पद बनेपछि असन्तुष्ट पदाधिकारीले अध्यक्षसहित अन्य सदस्यहरूको राजीनामा माग राखेका हुन् । 

क्यानले बोर्ड बैठक काठमाडौं उपत्यकाबाहिर पोखरामा आयोजना गर्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड बैठक डाके पनि कार्यसमितिका सदस्यहरूलाई एजेन्डा पठाएका छैनन् । ‘आरोपैआरोपबीच बोर्ड बैठक हुन लागेको छ, अहिलेसम्म हामीले एजेन्डा प्राप्त गरेका छैनौँ,’ बोर्डका एक सदस्यले नयाँ पत्रिकालाई भने । अध्यक्ष चन्द तथा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले एजेन्डा नपठाए पनि असन्तुष्ट पक्षका पदाधिकारीहरूले बैठकको मुख्य एजेन्डा नै पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा तथा नेपाल टी–२० लिग नै मुख्य रहेको बताएका छन् । 

बलात्कार आरोपमा धरौटीमा रिहा भएका पूर्वकप्तान सन्दीपलाई क्यान स्वयंले निलम्बन फुकुवा गरेको छैन । पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला गरेपछि क्यानका अध्यक्ष तथा कार्यवाहक सचिवले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राख्ने आश्वासन दिएका थिए । तर, क्यानले गत शुक्रबार बन्द प्रशिक्षणमा डाकेका खेलाडीको लिस्टमा सन्दीपलाई समावेश गरेन । 

क्यानले निलम्बनमा रहेका सन्दीपलाई बन्द प्रशिक्षणमा राख्न नहुने जनाएको छ । क्यानले सन्दीपलाई निलम्बन फुकुवा गरी टोलीमा फर्काउने प्रयास जारी राखेको छ । तर, यी सबै प्रक्रिया पूरा गर्न साधारणसभामा लैजानुपर्छ । साधारणसभाको मितिसमेत टुंग्याउने बैठकको प्रमुख एजेन्डा छ ।

‘हामीले मंगलबार बस्ने बैठकमा सन्दीपको निलम्बन फुकुवा, नेपाल टी–२० लिगको समीक्षा र साधारणसभालाई मुख्य एजेन्डाका रूपमा राखेका छौँ,’ ती सदस्यले भने, ‘साथै, नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता र सहभागी हुने प्रतियोगिताको विषयमा छलफल हुनेछ ।’ ९ देखि २७ पुससम्म आयोजना भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ सार्वजनिक भएको थियो । साथै, लाइभ बेटिङ, विदेशी खेलाडी श्रमस्वीकृति नभएको, खेलाडीले पारिश्रमिक नपाएको, ६ टोलीमध्ये दुई टोलीको मालिक सम्पर्कमै नआएको, व्यापारिक अधिकार पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनीका मालिक जतिन अहलुवालिया भारत भागेपछि लिगको विवाद चुलिएको थियो ।

 विधानविपरीत बैठक
क्यानको विधानअनुसार पूर्ण बोर्ड बैठक बस्न कार्यसमितिका सबै सदस्यलाई बैठकको एजेन्डा उपलब्ध गराउनुपर्छ । अध्यक्ष चन्दले बैठकको आह्वान गरे पनि एजेन्डा कसैलाई पनि नपठाएको सदस्य ऋषिराम गौतमले नयाँ पत्रिकालाई बताएका छन् । ‘क्यानको अध्यक्षले आफ्नै विधानलाई लत्याउँदै कार्यसमिति सदस्यलाई बैठकको एजेन्डा नै उपलब्ध गराएको छैन,’ गौतमले भने, ‘सोमबार अबेर रातिसम्म पनि हामी एजेन्डा प्रतीक्षा गरौँ ।’ 

अध्यक्ष चन्दले १५ माघभित्र एजेन्डा प्राप्त हुने क्यानको आधिकारिक ‘फेसबुक म्यासेज ग्रुप’मा जानकारी दिएका थिए । ‘हामीलाई अहिलेसम्म एजेन्डा आएको छैन । १५ माघसम्म उहाँले दिन्छु भन्नुभएको थियो,’ गौतमले भने, ‘सोमबार अबेर रातिसम्म पनि एजेन्डाको प्रतीक्षा गरेका थियौँ, तर आएको छैन ।’ उनले बैठकमा कार्यसम्पादन टोलीको राजीनाम माग हुने बताए । ‘हाम्रो माग बैठकमा पनि यथावत् रहनेछ, अध्यक्षसँगै अन्य सदस्यहरूको राजीनामा माग हुनेछ,’ उनले भने । 

बैठक पूर्ण नहुने सम्भावना
क्यान सत्तापक्षले समयमै एजेन्डा नदिएपछि पोखरामा बस्ने बैठकले पूर्णता नपाउने सम्भावना छ । क्यानका सात बोर्ड सदस्यले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका पाँच सदस्यको राजीनामा मागलाई मुख्य एजेन्डा बनाएका छन् । असन्तुष्ट पक्षका अधिकांश सदस्य काठमाडौंमै छन् । अध्यक्ष चन्द र कार्यवाहक सचिव मल्लले एकलौटी रूपमा निर्णय लिन थालेको आरोप उनीहरूले लगाएका छन् । ‘हामी अझै काठमाडौंमै छौँ । पोखरा जाने वा नजाने अझै अन्योल छ । हामी गए पनि राजीनामै माग्ने हो,’ असन्तुष्ट सदस्यले भने, ‘त्यसपछिको अवस्था के हुन्छ, हेरौँ, ‘पोखरा गए पनि बैठकमा सहभागी हुने वा नहुने मंगलबार मात्रै टुंगो लाग्छ ।’