मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ माघ १४ शनिबार १८:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काममा ढिलासुस्ती हुँदा त्रिवेणीमा १५ करोडको पुल अलपत्र

Read Time : < 1 मिनेट
२०७९ माघ १४ शनिबार १८:०१:००

डोल्पा र पश्चिम रुकुमको सिमानास्थित त्रिवेणी–मुड्केचुला जोड्ने एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि अलपत्र परेको छ।

करिब १५ करोड लागतमा पुल निर्माणको जिम्मा पाएको क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि निर्माण कार्य अलपत्र परेको हो।

क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै कछुवाको गतिमा काम सुरु गरेको छ।

निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत वर्षौँपछि धकेलिएको छ।

हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूकाे छ। हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै ०७७ साउनमा टेन्डर खुलाएको थियो। 

यता रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताए। 

टेन्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन्। पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन। यता जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए।