१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार १०:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लघुवित्त संस्थाको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा बढ्यो : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार १०:४४:००

लघुवित्त संस्थाहरूको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बताएकी छिन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लघुवित्त संस्थाहरू २०–२५ वटामा ल्याई गुणस्तरीय र दिगो सेवा प्रवाह गर्न सुझाव दिएकी छिन् । 

लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक, सामाजिक अवस्थालाई सुधार गरेका प्रशस्त उदाहरण हुँदाहुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैरकानुनी र नीतिविपरीतका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनको भनाइ थियो । 

प्रत्येक वर्ष माघको पहिलो साता विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको संस्थाले यसपटक पनि वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी मनाएको हो । सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिबी निवारणको उपयुक्त अस्त्र भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् । संस्थाले कार्यक्रममा आबद्ध सदस्यहरूको आयस्तरमा वृद्धि गर्न उनीहरूलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकाले सोहीअनुरूप लघु उद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडि बढ्ने उनको भनाइ थियो । 

समारोहमा संस्थामा आबद्ध ज्येष्ठ ग्राहक सदस्यहरू, उत्कृष्ट लघु उद्यमी, बचतकर्ता तथा केन्द्रहरू, सञ्चालक समितिका पूर्वसञ्चालकलगायत २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीमध्ये ०७८ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका एक सय ४५  शाखा कार्यालयबाट दुई लाख ६३ हजारभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्‍याएको जनाएको छ ।