Skip This
दमकको मुख्य बजारमा आगो लगाइएको पुष्टि, एकजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १ आइतबार
  • Tuesday, 13 May, 2025
आगलागीबाट खरानी भएको दमकका पसलहरू । तस्बिर : चिरञ्जीवी घिमिरे /नयाँ पत्रिका
२o७९ माघ १ आइतबार १८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमकको मुख्य बजारमा आगो लगाइएको पुष्टि, एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार १८:३१:oo

झापाको दमक–६ नमुना मार्गस्थित मुख्य बजार क्षेत्रमा दुई व्यक्तिले आइतबार बिहान आगो लगाएका छन्। दुई व्यक्तिले आगो लगाउँदा ९ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। सिसिटिभीको फुटेजका आधारमा आगो लगाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।  

कपडा, जुत्ताचप्पल पसल तथा ट्रेलरिङ सेन्टर गरी ९ वटा पसल पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए। उनका अनुसार झन्डै दुई करोड क्षति भएको छ। यद्यपि, क्षतिको विवरण संकलन भइसकेको छैन। आइतबार बिहान ३ः१७ मा दुईजना व्यक्तिले आगो लगाएको पुष्टि भएको डिएसपी गिरीले बताए। 

‘सुरुमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको थियो। सिसिटिभी फुटेज हेर्दा दुईजना व्यक्तिले आगो लगाएको देखिएको छ,’ उनले भने,‘एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटरले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

आगो करिब तीन घण्टापछि झापा, मोरङका सातवटा दमकलले नियन्त्रणमा लिएका थिए। आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। यद्यपि, उनीलाई अर्कै व्यक्तिले निर्देशन दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

‘अनुसन्धानकै क्रममा छ। अहिले नाम खुलाउँदा मुख्य अभियुक्त फरार हुन सक्छ। त्यसैले, पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेका छौँ। ती व्यक्तिले संलग्नता स्विकारे,’ डिएसपी गिरीले भने, ‘पक्राउ परेका व्यक्तिलाई ती फरार व्यक्तिले बियर खुवाएछन्। त्यसपछि प्रभावमा पारेर आगो लगाउन सहयोग मागेछन्। किन आगो लगाएको भन्ने उनलाई थाहा रहेनछ।’ 

पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको छ। अर्का एक फरार व्यक्तिको पनि खोजी भइरहेको उनले बताए।