
मतपुस्तिकामा सत्तापक्षीय उम्मेदवारका लागि दिइएको एक मत बदर
सांसदले नै मत बदर गरेपछि सुदूरपश्चिम प्रदेश सभाले बिहीबार सभामुख पाउन सकेन । सभामुख चयनका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत पुर्याउन सकेनन् ।सत्तारूढ गठबन्धनबाट माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।
सभामुखका उम्मेदवार
भण्डारीले २६ र रावलले २३ मत पाए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्तापक्षकै सांसदको मत बदर भएकाले भण्डारी बिहीबार सभामुख चयन हुन सकेनन् ।
सत्तापक्षका एक सांसदको मत बदर पाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा माओवादी ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी सत्तापक्षका २९ सदस्य छन् । तर, एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मतदान गरेनन् ।
निर्धारित समयभित्र प्रदेश सभा हलभित्र नगएपछि प्रदेश सभास्थलमै भए पनि मल्ल मतदान गर्नबाट वञ्चित भए । प्रदेश सभा हलभित्र छिर्न खोज्दा भित्र प्रवेशका लागि समय सकिएको जनाउ घन्टी बजेपछि मर्यादापालकले उनलाई भित्र जान रोकेका थिए । चौधरी भने मतदानमा गएनन् । १९ सदस्य रहेको कांग्रेसका उम्मेदवार रावलले २३ मत पाए ।
उनलाई चार सिट रहेको एकीकृत समाजवादीले समेत समर्थन गरेको थियो । प्रदेश सभा बैठकको अध्यक्षता गरेकाले कांग्रेसका शिवराज भट्टले मतदान गरेनन् । कुनै पनि उम्मेदवारले बहुमत नपाएकाले सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे पुनः मतदानको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।