मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २१ आइतबार
  • Sunday, 04 June, 2023
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष २२ शुक्रबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘फिल्मी शैली’मा नगर सभाकै दिन वडाध्यक्षकाे राजीनामा !

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष २२ शुक्रबार १७:३६:००

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले राजीनामा दिएका छन्। निर्वाचित भएको आठ महिनामै वडाध्यक्ष महराले राजीनामा दिएका हुन्।

शुक्रबार नगरको १२औँ नगर सभा चलिरहेका वेला नगरप्रमुख राणबहादुर महरालाई वडाध्यक्ष महराले राजीनामा बुझाए। नगर सभा चलिरहेकै वेला फिल्मी शैलीमा गएर वडाध्यक्ष महराले नगरप्रमुख महरालाई राजीनामा बुझाएपछि नगर सभामा उपस्थित सबै चकित परे।

बिहीबार राति सामाजिक सञ्जालमार्फत वडाध्यक्ष र नेकपा माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका वडाध्यक्ष महराले वर्तमान व्यवस्थालाई दोषारोपण गरेर राजीनामा दिएका हुन्।

वडाध्यक्षले नगरप्रमुखलाई राजीनामा बुझाएसँगै नेकपा माओवादी पार्टी परित्याग गरेको घोषणा गर्दै नेकपा बहुमत प्रवेश गरेका छन्। नेकपा बहुमत पार्टी कञ्चनपुरका कार्यालय सचिव दीपेन्दसिंह ऐरीले राजीनामा बुझाएका वडाध्यक्ष महरा नेकपा बहुमतमा प्रवेश गरेको पुष्टि गरे। 

उनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टीका–टिप्पणी सुरु भएको छ।