
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज ट्विट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
पाल्पाको रैनादेवीछहरा गाउँपालिका– ८ टाडीस्थित सालझन्डी–ढोरपाटन सडकखण्डमा गएराति बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परेर घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।