१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २० बुधबार ०९:४०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

औद्योगिक प्रदर्शनीमा सात लाख दर्शकले गरे अवलोकन

Read Time : > 1 मिनेट
२०७९ पौष २० बुधबार ०९:४०:००

आयोजकले अनुमान गरेभन्दा बढी दर्शकले गरे अवलोकन, आर्थिक कारोबार पनि लक्ष्यअनुरूप 

बुटवलमा यही पुस ७ गतेदेखि सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलबार समापन भएको छ । आयोजकका अनुसार लक्ष्यअनुसार दर्शकले महोत्सवको अवलोकन गरेको र कारोबार पनि लक्ष्यअनुसार भएको छ । आयोजकले सात लाख दर्शक आउने र २५ करोडको कारोबार हुने अनुमान गरेका थिए । 

समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मूल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिब सात लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा बढी नै दर्शक आएको तथा आर्थिक कारोबार पनि लक्ष्यअनुरूप भएको बताए । 

रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकममध्ये प्रत्येक टिकटबाट चार रुपैयाँ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र चार रुपैयाँ औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्याएको जनाइएको छ । 

समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री लीला गिरीले प्रदर्शनीले खस्कँदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटो कोर्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकास र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे । 

प्रदर्शनीको समापन समारोहमा बोल्दै प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले राजधानीबाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आधुनिक डिजाइनमा ऐतिहासिक रूपमा प्रदर्शनी सम्पन्न गरेको बताए । बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बमबहादुर मिश्र, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, जिल्ला/नगर संघसंस्थाको तर्फबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, प्रदेशस्तरीय संघसंस्थाको तर्फबाट चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जीवकान्त काफ्ले, सचिव वसन्त ढकाल,  पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेललगायतले आर्थिक क्षेत्रको चर्चा गरेका थिए ।  

प्रदर्शनीको ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधवप्रसाद पौडेलको संयोजकत्वमा एक सय एक सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, दुई सय ५१ सदस्यीय सल्लाहकार समिति र ३२ वटा विभिन्न प्रकृतिका उपसमिति गठन गरिएको थियो । 

यसैगरी, प्रदर्शनीसम्बन्धी दैनिक कार्य सम्पादन गर्न मूल समितिका संयोजक रहेको नाै सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) पनि गठन गरी आयोजना कुशलतापूर्वक सम्पन्न गरेको प्रदर्शनीका प्रबन्धक यादवप्रसाद भण्डारीले बताए  ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका तीन सय १० प्रतिष्ठान उत्पादन र चार सय १५ वटा स्टलमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगको प्रकृतिलाई हेरी विशेषताअनुसार विभाजन गरिएको थियो । 

जसअन्तर्गत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी/अचार/आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी/सौन्दर्यमा ३६ प्रतिष्ठान, जुत्ता/चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग/प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटेलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी, क्षेत्रगत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो  । 

जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौं, ललितपुर, बाँके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, वीरगन्ज, सुनसरी, जनकपुर, हेटौँडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङलगायत रहेका थिए ।